गोरखा समाचारदाता
माघ १६ गते । गोरखाको गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भुकम्प पिडितहरुका लागि सामान घुम्तीकोष शुरु गरिएको छ । पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भुकम्प पिडितहरुलाई वडा कार्यालयको रहोबर सामान उपलब्ध गराएर घर निर्माणको काम शुरु गर्न लगाइएको हो ।
पैसा दिर्दा खर्च गर्ने र घर बनाउनै नथाल्ने भएपछि वडा कार्यालय साक्षी बसेर घर बनाउन आबश्यक पर्ने सामाग्री भिकाई दिने गरेको वडा नम्बर २ का वडाध्यक्ष गिर बहादुर गुरुङले जानकारी दिनुभयो । ‘ढुङगा, गिटी, इट्टा बालुवा सिमेन्ट लगायत डिपिसी सम्म गर्न आबश्यक पर्ने सवै निर्माण सामाग्री हामी जिम्मा बसेर झिकाइदिन्छौ, उहाँले भन्नुभयो, घर बनाउन शुरु गरेसंगै उहाँहरुको दोस्रो किस्ताको रकम आएपछि सामान ल्याएको ठाउँमा बुझाइदिने गरेका छौ ।’
गण्डकी गाउँपालिकाको ३ ओटा वडामा सामान घुम्तीकोष शुरु भएकोे वडाध्यक्ष गुरुङको भनाई छ । सरकारले लाभग्राही भुकम्प पिडितहरुलाई घर निर्माणको समयसिमा तोकेको भएपनि केही भुकम्प पिडितहरुले रकम अभावका कारण घर बनाउन शुरु नै गर्न नसक्ने अबस्था भएपछि वडा कार्यालय घुम्तीकोष सन्चालन गरेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष गुरुङले घुम्तीकोषबाट अहिलेसम्म गण्डकी गाउँपालिकाको वडा नम्बर १, २ र ६ मा गरी ९ ओटा घर निर्माण भईसकेको जानकारी दिनुभयो । ‘समान घुम्तीसेवा शुरु नगरेको भए उहाँहरुले घर बनाउनु हुन्थेन, वडाध्यक्ष गुरुङले भन्नुभयो, कसरी छिर्टो पुर्ननिर्माण सम्पन्न गर्न सकिन्छ भन्ने बिचार गर्दा यो उपाय लगाएका हौ ।’
घुम्तीसेवा लिएर अहिले १८ घर निर्माणको चरणमा रहेको वडाध्यक्ष गुरुङको भनाई छ । यो सेवा लिएका भुकम्प पिडितको घर बनाउदै गर्दा किस्ता आए उहाँकै किस्ताबाट तिरीदिन्छौ,’ उहाँले भन्नुभयो, किस्ता ढलोगरी आए वडा कार्यालयले तिरेर उहाँको किस्ता आएपछि कटाएर लिने गरेका छौ ।’
घुम्तीकोष शुरु भएपछि घर बनाउन आँट नगर्ने भुकम्प पिडितहरु पनि घर बनाउन आतुर देखिएको वडाध्यक्ष गुरुङले भनाई छ । घर निर्माणका लागि तिनओटै वडामा नेपाल आबास निर्माण परियोजनाले निशुल्क नक्सा बनाइदिने, घर निर्माणको लागत, योजना र सामाग्रीको छनोट समेत गरिदिने गरेको उहाँले बताउनुभयो ।


