काठमाडौँ — कांग्रेस सांसदहरुको विरोधकाबीच राष्ट्रिय सभामा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतका आधारमा पास भएको छ ।
शिक्षामन्त्रीको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै अब सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउनका लागि ७२ घण्टाको समय दिइएको छ। राष्ट्रिय सभाको आगामी बैठक माघ १७ गतेका लागि बोलाइएको छ।
यसअघि कांग्रेसका सांसदहरुको विरोधका कारण १५ मिनेट स्थगित भएको राष्ट्रिय सभाको बैठक पुन: सुरु भएसँगै अध्यक्ष गणेश तिमल्सिनाको आदेश अनुसार सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जानकारीसहित टेबुल गरेका थिए।
पुन: सुरु भएको बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरुले आफ्नो स्थानमा उभिएर विरोध गरेपनि अध्यक्षले तिमल्सिनाले सचिवलाई विधेयक टेबुल गर्न आदेश दिएका थिए। त्यसपछि भने कांग्रेसका सांसदहरु रोष्टम अगाडि पुगेर नाराबाजी गरेका थिए। विधेयक टेबुल भएसँगै बैठक पुन: आधा घण्टाका लागि स्थगित गरिएको थियो।
त्यसभन्दा अघि पनि बैठक सुरु भए लगत्तै कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेसँगै राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमल्सिनाले सांसदहरुलाई बस्न आग्रह गर्दै कांग्रेस सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए।
बद्री पाण्डेले कांग्रेसका सांसदहरुको तर्फबाट बोलिरहँदा पनि सांसदहरुले आफ्नो आसन ग्रहण गरेका थिएनन्। सांसद पाण्डेले पार्टीका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना गर्ने भनिएका दुई अस्पतालहरुका बारे मन्त्रिपरिषदबाटै निर्णय नभएसम्म संसद चल्न निदने बताएका थिए।
सांसद पाण्डेले आफ्नो भनाइ राखे पश्चात अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
kantipur


