कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको भजाइनल स्वाबको नमुनासँग उनकी आमा दुर्गादेवीको डिएनए प्रोफाइल मिलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार पुगेको रिपोर्टमा दुवैको डिएनए मिलेको देखिएको हो ।
निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइल माथि नै शंका उठेपछि पुस २६ गते आमा दुर्गादेवीले वास्तविकता पत्ता लगाउन भन्दै डिएनए परीक्षणका लागि रगतको नमुना दिएकी थिइन्। ‘निर्मलाको भजाइनल स्वाबबाट लिइएको नमुनासँग आमाको डीएनए प्रोफाइल मिलेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुबेर कडायतले भने, ‘निर्मलाबाट लिइएको नमुनामाथि गरिएको शंका निवारण भएको छ।’
उनका अनुसार आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेको रिपोर्ट सोमबार हेरिएको हो। रिपोर्टमा दुवैको डिएनए ९९ दशमलव ९९ प्रतिशत मिलेको छ। पीडित परिवारले निर्मलाको डिएनएमाथि शंका गर्दै वास्तविकता पत्ता लगाउन आमाबुवाको समेत डिएनए परीक्षणको माग गर्दै आएका थिए।
पुस १५ गते प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल यहाँ आउँदा पनि अधिकारकर्मी र पीडित परिवारले उक्त कुरा उठाएका थिए।
kantipur


