माघ १४, २०७५ दार्चुला — चालु आर्थिक वर्षमा मात्र तुइनमार्फत महाकाली तर्न खोज्दा चार जनाले ज्यान गुमाइसकेका छन् । नदी वारपार गर्ने क्रममा गत वैशाख २४ गते व्यास–२ का ३५ वर्षीया शकुन्तला भण्डारी, असार १ गते दुहु–३ का १६ वर्षीय कञ्चन लोथ्याल, साउन १७ गते व्यास–५ का १८ वर्षीय रवि धामी र भदौ ११ गते महाकाली नगरपालिका–१ का ४५ वर्षीय जीतबहादुर बमको महाकाली नदी वारपार गर्दा ज्यान गएको हो ।
विगतमा तुइनका कारण मृत्यु भएकाको तथ्यांक भने प्रहरीसंग छैन । तर, स्थानीय बासिन्दाका अनुसार हरेक वर्ष दुई तीनजनाको तुइनबाट महाकालीमा खसेर ज्यान गुम्ने गरेको छ । सरकारले ०७२ सालदेखि नै देशभरका तुइन विस्थापन गर्ने नीति लिएको छ । ०७२ असोज २५ गते पहिलो पटक केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त हुदा देशभरका तुइन दुई वर्षभित्र विस्थापन गर्ने घोषणा गरेका थिए । अहिले पनि उनकै नेतृत्वको दुई तिहाइ जनमतसहितको शक्तिशाली सरकार अस्तित्वमा छ । यो अभियानले भने अपेक्षा अनुसार गति लिएको छैन । देशभर १ सय ८७ वटा तुइन रहेकामा अहिलेसम्म ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत १ सय १३ स्थानमा झोलुङ्गे पुल निर्माण भएका छन् ।
तुइन विस्थापनको घोषणा गरिएको आव २०७२/७३ मा देशभरबाट कुल ५७ तुइन विस्थापित भए । दार्चुलामा महाकाली नदीमा एक र सहायक नदीहरूमा तीन ठाउमा तुइन विस्थापन भए । यस्तै, २०७३/७४ मा देशभरबाट २५ ठाउका तुइन विस्थापन भएको सरकारी तथ्याङ्क छ । दार्चुलाको महाकाली नदीमा भने यो वर्ष तुइन विस्थापन हुन सकेन । आव २०७५/७६ मा भने महाकाली नदीमा पर्ने लेकम गाउपालिका–३ लालीमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
यो क्षेत्रको ट्युब विस्थापन हुँदै छ । तुइन विस्थापनअन्तर्गत सर्भे तथा टेन्डर भएका महाकाली नदीका पाँच ठाउँमा भारतीय सरकारले पुल निर्माणका लागि सहमति नदिंदा पुल निर्माण कार्य रोकिएको हो । भौगोलिक रूपमा विकट व्यास गाउपालिकाका नागरिक अहिले पनि तुइनमार्फत आवतजावत गर्न बाध्य छन् । यहाका करीब पाच हजार ३ सय जनसंख्याले महाकालीको तुइन प्रयोग गर्दै आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गत झोलुङ्गे पुल योजनाको तथ्याङ्कले देखाउँछ । व्यास गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ का नागरिक अहिले पनि त्यही ज्यानमारा तुइनको सहारामा महाकाली वारपार गर्छन् । नेपालतिर सडकको कामले गति नलिदा यस क्षेत्रका नागरिक दिनहुँ त्यही तुइन भएर आवतजावत गर्नुपरेको व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिंह धामीले बताए ।
खुला सीमा, खुला व्यापार
यस क्षेत्रमा न प्रहरी, न भन्सार, न त आवतजावत गर्न झोलुङ्गे पुलकै व्यवस्था छ । पूरै सिमाना खुला छ । घरायसी सामानदेखि लिएर विकास निर्माणका सामग्री निर्वाधरूपमा आयात निर्यात हुने गरेको छ । महाकाली नदीमा झुन्डिएको तुइनमाथि ताङ्लो अड्याएर स्थानीय बासिन्दाले वर्षौंदेखि सामान ओसारपसार गर्दै आएका छन् ।
यस क्षेत्रका विद्यार्थी, गर्भवती महिला, वृद्धवृद्धा वा अशक्त बिरामी यही तुइनमार्फत वारपार गर्नुको विकल्प नभएको स्थानीय बासिन्दा दानसिंह कार्कीले बताए ।
फलामे तार खोला वारिपारि लगाइएको हुन्छ । त्यही तारमाथि डोरी अर्थात् स्थानीय भाषामा ताङ्लो प्रयोग गरिएको हुन्छ । यस क्षेत्रका हरेक घरमा व्यक्तिगत रूपमै ताङ्लो बनाइएको हुन्छ जुन खलङ्गा (जिल्ला सदरमुकाम) आउँदा झोलामा लिएर आउनुपर्छ । ‘घर नजिक बजार नहुँदा स्थानीय बासिन्दा दिनहुँ त्यही तुइनको सहारामा नुन, तेल र चामललगायतका आवश्यक सामान लिन भारतीय बजार जानैपर्छ,’ राप्लाका स्थानीय महेश बुढाथोकीले भने ।
भारतको धारचुलाबाट डेढ घण्टा लगाएर पुगिने मालघाटमा नेपालतिर बाटो राम्रो नहुँदा यस क्षेत्रका अधिकांश बासिन्दा तुइनको प्रयोग गर्छन् । भारतको धारचुला छिर्ने बित्तिकै मोटर बाटोको सुविधाका कारण भारतीय बाटोमा नेपाली परनिर्भर हुनुपरेको छ ।
घरटहरामा प्रयोग हुने जस्तापाता होस् वा सिमेन्ट, यही तुइन र ताङ्लोबिना तार्नु बाहेक अर्कौ विकल्प यहाका जनतासग छैन । हिउदमा नदीको बहाव कम हुदा त जेनतेन तुइन तर्न सहज हुन्छ तर, बर्खामा भेल बढेसंगै भने यो झन् झन् कठिन हुदै जान्छ । ‘भारतबाट जादा जिल्ला सदरमुकाम खलङ्गा मोटरमा एक घण्टामै पुगिन्छ तर, स्वदेशको गोरेटो नाप्दा छ सात घण्टा लाग्छ, त्यही सुविधाको लोभमा स्थानीय बासिन्दा जोखिम मोलेर भए पनि तुइन चढ्ने गर्छन,’ बुढाथोकीले भने । नेपालको अन्तिम सीमा महाकाली नदीमा यस पालिकाका वडा जोड्ने पुल छैनन् ।
दोहोरो त्रासमा यात्रा
साझ, बिहान, रातबिरात हिंड्नुपर्ने बाटोमा उर्लंदो महाकाली तर्न कम सकस छैन । महाकालीको जोखिम एउटा कुरा, त्यो भन्दा अझ ठूलो त्रास भारतीय सुरक्षा बल ( एसएसबी) को छ । वैध नाका नभएकाले सुरक्षाकर्मीले पटक पटक तुइन फालिदिंदा समस्या हुंदै आएको छ । त्यसैले एक पटक तुइन प्रयोग गरेपछि भारतीय नदी किनारमा बाँधिएको तार फुकालेर नेपालतिरै लुकाउनुपर्छ । एसएसबीको आँखा छलेर सुटुक्क जडान गर्दै वारपार गर्नुपर्ने अवस्था अझै पनि कायमै छ । अजङ्गका पहाड र खोंच भएर बग्ने महाकालीको ढुङ्गाका कापमा अड्केर शव नभेटिने समस्या स्थानीयवासी सुनाउछन् । कुशको प्रतिमा बनाएर हराएकाहरूको अन्तिम दाहसंस्कारका विधि पूरा गर्नुपर्ने विडम्बना छ । दार्चुलामा जौलजीवी, दत्त, खलङ्गा, तिगरम र सितापुल मात्र वैध नाका हुन् । पछिल्लो पटक लालीमा नाका थपिएको छ । ‘मुलुक राणाकाल, पञ्चायत शासन, बहुदल हुँदै गणतन्त्रमा प्रवेश गर्यो तर, यहाका जनताको महाकालीमाथि पुलमा आवतजावत गर्ने सपना भने सपनामै सीमित रहँदै आएको छ,’ कार्कीले भने । गत वर्ष स्थानीय, प्रदेश र संघको निर्वाचन जित्ने नेताहरूले पनि आफ्ना वचन पूरा गरेका छैनन् ।
आधा दर्जन ठाउमा अझै तुइन तुइन विस्थापन गर्ने नीति लिएको सरकारले दार्चुलाको उत्तरी क्षेत्रको व्यास गाउपालिका–६ तिगरममा एउटा तुइन विस्थापन गरेर झोलुङ्गे पुल त निर्माण गरेको छ तर, अझै वडा नं २ को दुम्लिङ रिठान र मालघाट, वडा नं ४ को बर्तीबगर, मालघाट तल्लो र मालघाट माथिल्लो तथा वडा नं ५ को डोकट र नाजीमा अहिले पनि तुइन यथावतै छन् ।
व्यास गाउपालिकाको सीमा क्षेत्रमा मात्रै आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् । सरकारले तुइनमुक्त घोषणा गर्ने नीति लिएपछि डोलिडारले दार्चुलाको व्यास–६ तिगरममा एक वर्ष अघि र लेकम गाउपालिका–३ लालीमा यो वर्ष झोलुंगे पुलको निर्माण सम्पन्न गरेको छ । दत्तु र जौलजीविमा यसअघि नै झोलुङ्गे पुल निर्माण गरिएको थियो । गत वर्षदेखि व्यास गाउपालिकाले भारतीय नागरिकसंगको आन्तरिक सहमतिमा व्यास–२ को दुम्लीङ, घाटिबगरमा आवतजावतका लागि अस्थायी काठेपुलको निर्माण गरेको छ । दुबै क्षेत्रका नागरिक आवतजावत गर्ने गरी दुई ठाउमा भारतीय पक्ष र दुई ठाउँमा नेपाली पक्ष अर्थात् व्यास गाउपालिकाले अस्थायी काठेपुल लगाएको हो । बर्खामा भने काठेपुल महाकाली नदीले बगाउदा नागरिकलाई समस्या हुने गरेको वडा नं २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।
तुइन विस्थापन गर्ने नीतिअनुरूप २०७२ सालमै टेण्डर आह्वान गरिएको हो तर, भारतीय पक्षले महाकाली नदीमा एउटै क्षेत्रमा थप पुल बनाउनु सुरक्षाका दृष्टिले नमिल्ने भन्दै रोक्यो । एक डेढ किलोमिटर क्षेत्रको फरकमा झोलुङ्गे पुल बनाउदा सुरक्षा चुनौती हुने भारतीय पक्षको तर्क छ । नेपालले भने व्यास क्षेत्रमा थप दुई वटा पुलका लागि सहमति दिन पटकपटक माग गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय नाकाहरूमा पुल बनाउन दुवै देशको सहमति आवश्यक हुन्छ ।


