माघ १४ गते । स्याङ्जा साहित्य सङ्गमको अध्यक्षमा गजलकार एवम् छन्द कवि विनोद परिवर्तित निर्वाचित भएका छन् । सङ्गमको गत शनिबार स्याङ्जा सदरमुकाम पुतलीबजारमा सम्पन्न अधिवेशनले एक बर्षे कार्यकालका लागि उनलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
सङ्गमको स्थापनाको लागि संस्थापक अध्यक्षको रूपमा अहम् भूमिका खेलेका युवा गजलकार परिवर्तित समकालीन नेपाली गजल र छन्द कविता विधामा लोकप्रिय छन् । अधिवेशनबाट उपाध्यक्षमा चर्चित कवि देशबन्धु आचार्य, सचीवमा ओम बहादुर गुरुङ, सह सचीवमा दीप पाण्डे र कोषाध्यक्षमा भवानी थापा निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरूमा मुक्तककार एस पी असफल, भरत पोख्रेल, कल्पना भुषाल र बलराम तिमिल्सिना निर्वाचित भएको निर्वाचन संयोजक तथा सङ्गमका सल्लाहकार चिन्तु गिरीले जानकारी दिनुभयो ।
सोही अवसरमा संस्कृत भाषा साहित्यको अध्ययन अध्यापनका माध्यमबाट नेपाली साहित्यमा योगदान पुर्याएकोमा पाणिनी आधुनिक गुरुकुल आश्रम स्याङ्जालाई सम्मान गरियो भने संस्थामा आबद्ध भई उत्कृष्ट योगदान गरे बापत पूर्व कोषाध्यक्ष गजलकार सपना कोइरालालाई सम्मान गरिएको थियो ।
स्याङ्जा र आसपासका स्थानबाट सहभागी ७६ जना साहित्यप्रेमी उपस्थित भव्य साहित्यिक कार्यक्रममा सङ्गमले हालै आयोजना गरेको खुला नेपाली कविता लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेका स्याङ्जाका कवि दीप पाण्डे, द्वितीय स्थान हासिल गरेका चितवनका कवि कृष्ण विश्वकर्मा र तृतीय स्थान हासिल गरेका बाग्लुङका कवि गौतम मनिषलाई क्रमशः नगद रू १२ हजार, ८ हजार र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा ३ दर्जन भन्दा बढि स्रष्टाहरूले विभिन्न रचना सुनाएर चिसो मौसममा साहित्यिक न्यानोपन दिलाए ।


