- सन्दर्भ दशौं गोरखा महोत्सव
कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर ३ गते । यसै साताको बिहीबार देखी गोरखा सदरमुकाममा हुने दशौं गोरखा महोत्सवको तयारीमा कामलाई तिब्रता दिइएको छ ।
उद्योग बाणिज्य संघ गोरखाको आयोजनामा गोरखा सदरमुकामको खेलकुद मैदानमा हुन लागेको दशौं गोरखा महोत्सवको लागि मंगलबार सम्ममा ९० प्रतिशत काम सम्पन्न हुन लागेको संघको सचिवालयले जानकारी दिएको छ ।
५ गते देखी १४ गते सम्म चल्ने उत्त महोत्सवको नारा भने संघले ‘इतिहासलाई चिनाउन, वर्तमानलाई देखाउन, गोर्खालीको साझा उत्सव गोरखा महोत्सव’ भनेको छ ।
दशौ गोरखा महोत्सव एवं अन्तर प्रदेश स्तरीय कृषि पर्यटन तथा ब्यापार मेलाको प्रथम राष्ट्रपति डा.रामवरण यादवले उदघाट्न गर्ने निश्चित भएको छ । उदघाट्नका सबै तयारी पुरा भएको संघका अध्यक्ष जिवनज्योति श्रेष्ठले बताए ।
महोत्सव भरी म्यान अफ द गोरखा दौड, तेस्रो गोरखा तारा, पालिकास्तरको खेलकुद तथा साँस्कृतिक कार्यक्रम, घरेलु तथा ठूला उद्योगहरुबाट उत्पादित सामाग्रीको प्रर्दशनी, ऐतिहासिक कला संस्कृतिको प्रर्दशनी, जिल्लामा उत्पादित हस्तकलाका सामाग्री, फोटो प्रर्दशनी, कृषि तथा सुन्तला प्रर्दशनी, बिभिन्न जातजातीका धार्मिक तथा भेषभुषा तथा ११ वटै स्थानीय तहको ऐतिहासिक तथा कला सँस्कृतीको प्रर्दशनी, प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता को आयोजना गरीएको संघले जानकारी दिएको छ ।
जिल्लाको ऐतिहासिक, साँस्कृतिक तथा पर्यटन क्षेत्रलाई प्रचारप्रसार एवम विकासका लागि टेवा पु¥याउने उदेश्यले महोत्सवको आयोजना गरिएको संघको दावी छ ।
आयोजकले दशौं गोरखा महोत्सव १ लाख २५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ । महोत्सव अवधिभर जिल्लाका बारपाक, चुमनुब्री र गोरखा दरर्बार र मनकामना मन्दिरको हेलिकोप्टर मार्फत अवलोकन गराउने ब्यवस्था समेत गरेको छ ।



