कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २९ गते । साता अगाडी गोरखाको पालुङ्गटार क्षेत्रबाट गोरखा प्रहरीले जुवाको खालबाट जफत गरीएको १ लाख ८२ हजार रुपैयाँ राजश्वमा दाखिला नगरी गायव पारीएको छ ।
पालुङ्गटार नगरपालिका ६ को कालामाटामा लक्ष्मी पुजाको राती (२२ गते बिहान २ः३० बजे) जुवा खेल्दै गरेका १८ जनालाई गोरखा प्रहरीले बिशेष शुराकीको सूचनामा पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई अब देखी जुवा तास नखेल्ने र गाउँमा हो हल्ला नगर्ने शर्तमा कागज गराएर छाडेको जुवा खेल्ने मध्ये एक जनाले गोरखा समाचारअनलाईनलाई बताए ।
‘लक्ष्मी पुजाको राती हामी १० देखी ५० रुपैयाँ सम्मको जुवा खेल्दै थियौ । प्रहरीले बिहान २ः३० बजे एक्कासी हामीलाई पक्रियो र सदरमुकाम ल्यायो । हामी १८ जना संग के कति पैसा छ भन्दै सबै खोतल र रबरले बानेर राखे । भोली पल्ट हामीलाई अब देखी जुवातास नखेल्ने र गाउँमा हो हल्ला नगर्ने शर्तमा कागज गरायो र छाडीयो’ पक्राउ परेका मध्ये एक जनाले बताए ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले भने पक्राउ परेको स्विकार गर्दै रकम भने १ लाख ६०÷६५ हजार मात्र भएको बताए । उत्त रकम जिल्लामा प्रहरी उपरिक्षक नभएका कारण के गर्ने भन्ने बिषयमा अन्यौल भएको बताए ।
जुवा खेल्नेहरु बाट सबै भन्दा कम ८ सय र सबै भन्दा धेरै ३३ हजार सम्म जफत गरीएको थियो ।
यसै बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई संग गोरखा समाचारअनलाईनले बुझदा ‘आफुलाई वुधबार राती मात्र यो बिषयको जानकारी आएको र बिहीबार नै के भएको हो ? भनेर सोध्दा रकम राजश्वमा जम्मा गर्न बाँकी भनेर जवाफ पाएकोले आजै राजश्वमा जम्मा गरी सो को जानकारी गराउन भनेको’ बताए ।



