गोरखा समाचारदाता
आगामी पुसमा हुने १० औं गोरखा महोत्सवको तयारी सुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा पुस ५ गते देखि १४ गते सम्म खेलकुद मैदान हरमटारीमा हुने महोत्सवको तयारीका बारेमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई जानकारी गराइएको हो । ‘हामी कार्यक्रम निर्माण कै चरणमा छौ’ महोत्सव आयोजक सस्था गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठले भने ‘सोही अनुरुप जिल्लाका विभिन्न सरोकारवालाहरुसँग सुझाव संकलन सुरु गरेका हौं ।’
जिल्लाको पर्यटन, कृषि र व्यापार व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले हुन लागेको महोत्सवमा के कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने भन्ने बारेमा जिल्लाका सरोकारवालाहरुसँग छलफल जारी रहेकाले केही दिन भित्र ठोस कार्यक्रम सर्वाजानिक गर्ने उनले बताए । ‘पहिलो चरणमा पत्रकार ज्यूहरुसँग छलफल गरेयौं’ उनले भने ‘अब स्थानीय तह, व्यापारी, व्यसायी, राजनीतिक दल अन्य सरोकारावालाहरुसँग विभिन्न चरणमा छलफल हुन्छ ।’ सोही अनुरुप महोत्सवमा सञ्चालन हुने कार्यक्रम तय गरिने आयोजकले बताएको छ ।
९ वटा महोत्सव गरिसकेको गोरखा उद्योग वाणिज्यसंघले हरेक पटक पुरानै कार्यक्रमलाई निरन्त्रता दिदा आकर्षण कम भएको भन्दै जिल्लामा क्रियाशिल पत्रकारहरुले ठोस योजना बनाएर गोरखालाई चिनाउने खालका कार्यक्रम गर्न सुझाव दिएका थिए । ‘गोरखाको पहिचान भनेको गोरखकाली, गोरखनाथ र गोरखा संग्रालय हो’ पत्रकार भिमलाल श्रेष्ठले भने ‘महोत्सवले यसलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रममा जोड दिन उपयुक्त हुन्छ ।’
विगतका महोत्सवहरु महंगो भएको भन्दै खानेकुराको मुल्य र सरसफाईमा विशेष ध्यान दिनु पर्ने पत्रकार कैलाशबाबु श्रेष्ठको सुझाव छ । ‘विगतका महोत्सव हेर्दा भित्र अचाक्ली महंगी देखियो, यसपाली यसलाई रोक्नु पर्छ’ उनले भने ‘खानेकुराको मुल्य पहिले नै निर्धारण गर्दा एकरुपता हुन्छ ।’ अधिकाशं सञ्चारकर्मीहरुले जिल्लाको मौलिक पहिचान दिने खालको नयाँ काम गर्न आयोजकलाई सुझाव दिएका छन् ।



