गोरखा समाचारदाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एम सांसद हरिराज अधिकारीले बूढीगण्डकी आयोजना पिडितलाई सरकारले क्षतिपूर्ति वापत व्याज दिनु पर्ने बताएका छन् । सांसद अधिकारीले राज्यले जनताको जग्गा लामो समयसम्म रोक्का गरेर अहिलेसम्म मुआब्जा नदिएको भन्दै त्यस वापत व्याज दिनु पर्ने बताएका हुन् । सांसद अधिकारीले अहिलेसम्म मुआब्जा दिने काम सम्पन नभएकोमा आपत्ति जनाउदै जनताको जग्गा रोक्का गरेवापत सरकारी बैंकले दिने व्याज बराबर क्षेतिपूर्ति दिन माग गरेका छन् ।
जलविद्युत आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका साविकका १४ र धादिङका १३ गाविसमा जग्गा किनबेच रोकिएको छ । आफ्नो अचल सम्पत्ति बैङ्कमा धितो राखेर ऋण लिन पनि नपाउने, जग्गा बेचेर अन्यत्र बसाई सर्न पनि नपाउने र मुआब्जा निर्धारण पनि नगर्दा समस्या परेको आरुघाटका स्थानीय बताउँछन् ।
आयोजना निर्माण हुँदा पानीको सतहले छुने क्षेत्रका जग्गा किनबेचमा रोक लगाइएको छ । २०७३ सालको चैतदेखि गोरखा र धादिङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गा खरिद, विक्री गर्न पाएका छैनन् भने जग्गाको मुआब्जा समेत पाउन सकेका छैनन् ।बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने आरुघाट र खहरेका बासिन्दाले आयोजना बन्छ भन्ने आशमा अब लामो समय धैर्य गर्न नसक्ने पनि बताउँदै आएका छन् । उनीहरुले तत्काल मुआब्जा दिन नभए जग्गा रोक्का खोलिदिन माग गरेका छन् ।


