मोहसिन अलि मियाँ/गोरखा
जेष्ठ २९ गते । बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितका लागि वितरण हुने मुआब्जाको रकम वितरणमा बिवाद देखिएको छ । प्रभावितका लागि वितरण गर्ने रकम बिना प्रतिस्प्रधा निजी बैंकलाई दिएको भन्दै विवाद भएको हो । यसअघि राष्ट्रिय बाणिज्य बैंक मार्फत वितरण हुदै आएको भएपनि पछिल्लो समय ढिलासुस्ती भएको भन्दै आयोजनाले प्रभु बैंकलाई वितरणको जिम्मा दिएको हो ।
‘हामीले पहिलादेखि नै मुआब्जा वितरण गर्दै आइरहेका छौ, यो पल्ट पनि आयोजना कार्यालयको आग्रहमा उहाँहरुकै कार्यालयमा डेक्स राखेर प्रभावितहरुको तथ्यांक संकलन हामीले नै गरेका हौ’ राष्ट्रिय बाणिज्य बैंक गोरखाका प्रबन्धक महेन्द्र प्रसाद तिमिल्सिनाले भने ‘यो पल्ट मुआब्जा बितरण हुने तिनै गाविसका प्रभावितहरुको खाता समेत खोलेर चेक समेत बनाइसकेका छौ, अब ति सब चेक पोल्न पर्ने भएको छ’
यो पटक बितरण हुने साविकका गाविसहरु फुजेल, नामजुङ र बोर्लाङका प्रभावितहरुको सम्पूर्ण तथ्यांक संकलन गरुनजेल केही नबोलेको आयोजनाको कार्यालयले अन्तिम समयमा निजी बैंकलाई वितरणको जिम्मा दिएको बाणिज्य बैंकको आरोप छ ।
‘पहिला तपाईहरुले नै हो बाड्ने भनेर तथ्यांक संकलन गर्न लगाउनु भयो अनि अन्तिममा बाणिज्यले ढिला सुस्ती गर्छ भनेर बिना प्रतिस्प्रधा निजी बैंकलाई वितरणको जिम्मा दिने भनेर निर्णय गर्नुभएछ, हामीले त निर्णय भएपछि मात्रै थाहा पायौ’ बैंकका प्रबन्धक तिमिल्सिनाले भने ।
यस अघि बाणिज्य बैंकले घ्याल्चोक, भुम्लिचोक, दर्बुङ गाविस र फुजेलका केही वडाहरु गरेर १ हजार ९ सय ६६ घरधुरीलाई कार्यालयले तोकेकै समयभित्र मुआब्जा वितरण गरिसकेको जनाएको छ । ‘पहिला हामीले यत्रो घरधुरीलाई मुआब्जा बाड्यौ, गाँउगाँउमा घुम्ती शिविर गरेर मुआब्जाको रकम बाड्यौ, अहिले आएर ढिला ग¥यो, जनताले दुख पाए भन्न कतिको उपयुक्त हो ?’ उनले भने ।
आयोजनाको कार्यालयले भने साविकको फुजेलका केही वडाका ४ सय ३२ घरधुरीलाई मुआब्जाको रकम वितरण गर्न ७० करोड ३७ लाख ३६ हजार ८ सय ८५ रकम बाणिज्यको खातामा पठाएको बैंकको भनाई छ । यता प्रभु बैंकलाई साविकका नामजुङ र बुंकोटको जिम्मा दिएको छ । दुई साविकका गाविसका प्रभावितका लागि १ अर्ब ३५ करोड रकम प्रभु बैंकको खातामा निकासा भएको छ ।
यता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई भने धेरै प्रभावितलाई एकै पटक मुआब्जा वितरण गर्नुपरेकाले यो उपाय अपनाइएको बताउछन् । ‘हामी ठूलो भोलुममा काम गर्दैछौ, पहिलादेखि नै निजी बैंकलाई पनि दिनुपर्छ भन्ने छलफल चलेको रहेछ, जनतालाई छिटो र प्रभावकारी रुपमा रकम वितरण होस भनेर यस्तो निर्णय गरेका हौ’ उनले भने ‘यो ट्रायल हो, यसबाट जनता सन्तुष्ट भए भने अर्को पटक अरुलाई पनि वितरण गर्न जिम्मेवारी दिन्छौ ।’ तर बैंक छनौट गर्दा प्रतिस्प्रधा भने नगराएको उनि स्विर्काछन् ‘हामी प्रतिस्प्रधा गराउन तिर नलागेकै हो, पहिलेदेखि नै प्रभु बैंकले आयोजनामा कुरा गरिरहेको रहेछ, त्यै भएर अहिलेलाई उहाँहरुलाई मात्रै दियौ’
दुवै बैंकलाई एकै दिन रकम निकासा भएको र जसले छिटो र जनतालाई चित्त बुझाएर मुआब्जा बितरण गर्छ आगामी दिनमा उसैलाई प्राथमिकतामा राखेर जिम्मेवारी दिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । ‘हामीले एकै दिन दुवै बैंकलाई रकम निकासा गरेका छौ, हेरौ कसले छिटो बाड्छ, यो पहिलो चरणलाई हामीले ट्रायल कै रुपमा हेरेका छौ’ उनले भने ।
यस बिषययमा कुरा गर्न खोज्दा उता घ्याल्चोक स्थित आयोजनाको कार्यालयका प्रमुख कृष्ण कार्कीको भने फोन उठेन ।


