नरेन्द्र ढकाल/गोरखा
जेष्ठ २८ गते । सार्वजनिक बसमा सह–चालकको रुपमा बालकहरु राख्ने क्रम फेरी सुरु भएको छ । कतिपय स्कूल बसमा समेत १६ वर्ष मुनिका बालकहरु देखिन थालेका छन् । जिल्ला सदरमुकामबाट चल्ने सवारी साधन नियाल्ने हो भने झण्डै आधा सबारी साधनमा बालकहरुलाई सहचालकको रुपमा प्रयोग गरिएको भेटिन्छ ।
आईतबार बिहान पृथ्वीराज मार्ग बस सञ्चालक समितिद्धारा सञ्चालित एक स्कूल बसका सहचालक आफू सरहका बालबालिकाहरुलाई बस चढाउँदै थिए । उनीजस्तै एक दर्जन बढि बालकहरु गोरखाका विभिन्न यातायात सेवामा सहचालकको रुपमा काम गर्छन् । सानैमा स्कूल छोडेर खलासी काम गर्न थालेका उनीहरु अधिकाशंले गुड्खा, खैनि, चुरोट जस्ता नशालु पदार्थको सेवन सेमत सुरु गरेको पाइन्छ ।
‘ट्राफिककै अगाडी यसरी बालबालिकाहरु प्रयोग भइरहेको छ, उनीहरु देखेको नदेखै गरिरहेका छन्’ बसपार्कमा भेटिएका बसन्त पण्डितले भने । बस स्टेशन वरपर बसेर नियाल्ने हो भने उनिहरुका सबै गतिविधि छलङ्र्ग देख्न सकिन्छ । नियमन निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने उक्त कुरामा अनविज्ञता जाहेर गरेको छ । ‘हाम्रो ध्यान गएको नहुन सक्छ, अहिले सम्म कुनै पनि सबारी साधनमा बालबालिका प्रयोग भएको हाम्रो जानकारीमा छैन्’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले भने ।
ग्रामिण भेगमा चल्ने ट्याक्टरहरुमा चालक पनि १६ वर्ष मुनिका बालकहरु रहेको भन्ने पाइन्छ । जिल्ला सदरमुकामबाट चल्ने यात्रुबाहक बसहरु मै १६ वर्ष मुनिका बालकहरुलाई सहचालक राख्ने गरेको देखिन्छ । ‘हामीले पहिले अभियान चलाएका थियौं, अब न्यूनिकरण भयो भनेर चुप लायौं, अहिले फेरी प्रयोग बढेको हुनसक्छ’ ट्राफिक प्रमुख पौडेलले भने । यस अघि जिल्ला बालकल्याण समितिको पहलमा ट्राफिक प्रहरीले १६ वर्ष मुनिका बालकहरुलाई सहचालकमा राख्नबाट कडाई गरेको थियो तर अहिले झण्डै आधा जसो सवारी साधनमा बालकहरु उक्त भूमिकामा देखिएका छन् ।
‘हामी यसलाई तुरुन्त कडाई गछौं, यदी कसैले १६ वर्ष मुनिको बालकलाई सहचालकको रुपमा काम लगाएको छ भने सबारी धनि कार्यवाहीमा पर्नुुहुन्छ’ उनले भने । यता सवारी धनिहरुले भने देख्दा सानो भएपनि १६ वर्ष पुरा भएकाहरुलाई मात्र सहचालक राखिएको दाबी गरेका छन् । ‘पहिले निर्मुल नै भएको थियो, सबै व्यवसायी कन्भिन्स हुनुहुन्थ्यो अहिले नयाँ व्यवसायी थपिएका छन, फेरी बालबच्चा प्रयोग भएको हुनसक्छ’ पृथ्वीराजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख राजन ढुंगानाले भने ।
ठूला मानिस भन्दा पैसा कम दिए हुने, काम गर्न फुर्तिलो र चलाख हुने हुँदा सबारी धनीको रोजाइमा बालक सहचालक पर्ने गरेको विज्ञहरु बताउँछन् । ‘वच्चाहरुलाई भए खानका भरमा मात्र काम लगाउन पाइन्छ भन्ने साथीहरुको धारणा हुनसक्छ, त्यो गलत हो । हामी तुरुन्तै सर्कुलेसन गर्छौ’ उनले भने । पछिल्लो समय पढ्ने उमेरका साना बालकहरु सहचालकको रुपमा प्रयोग बढ्दा पनि नियमन निकाय मौन रहेकोमा सरोकारवालाहरु चिन्ता व्यक्त गरी रहेका छन् ।


