गोरखा समाचारदाता
नेपाल एकिकरणका एक महत्वपूर्ण पात्र बिस्से नगर्जीको सालिक स्थापना हुने भएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहका सल्लाकार रुपमा ख्याति कमाएका उनको योगदानको उपेक्षा गरिएको भन्दै परियार सेवा समाजले नगर्जीको सालिक स्थापना गर्न लागेको समाजका केन्द्रिय बलबहादुर सुन्दासले जानकारी दिए । ‘हतियार किन्नका लागि पैसा नभएका बेला उहाँले राजालाई महत्वपूर्ण सल्लाह दिनुभएको कुरा हामी सबैले सुनेका छौं’ उनले भने ‘त्यस्ता थुपै योगदानहरु भएपनि उहाँलाई भुल्ने काम भएको छ, यो कुरा निकै दुःखद छ ।’ उनले एकिकरण लागि आवश्यक हतियार किन्न राजालाई एक रुपयाँ दिएको र गोरखा राज्यभरीका हरेक नागरिकसँग १ रुपयाँ उठाउन सुझाव दिएको भन्ने किम्बदन्ती छ ।
ऐतिहासिक गोरखा दरबार मुनि रहेको नगर्जीको जन्म स्थल नजिकै गितारे डाँडामा शालिक बनाउन लागिएको हो । गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठ र समाजका केन्द्रिय अध्यक्ष सुन्दासले सयुक्त रुपमा शालिक निर्माणको शिलन्यास गरेका हुन् । २ महिना भित्र सालिक तयार हुने र त्यहाँ पार्क समेत बनाउने योजना रहेको परियार सेवा समाजले जनाएको छ ।
सुन्दासको अध्यक्ष तथा गोरखा नगरपालिकाकी उपप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा परियार समाजको २४ औं स्थापना दिवश तथा वार्षिक साधारण सभा कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष नारायण प्रसाद अर्याल, लक्ष्मी खानी मगर, फत्तेमान परियार, रतन परियार, मेखराज परियार, रमेश परियार, निर्मला परियार, हस्त परियार, भिमसेन गाँउपालिका कार्यपलिका सदस्य रामु नेपाली लगायतले मन्तव्य राखेका थिए ।


