कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १६ गते । ठेक्का लिएर पनि समयमा काम नसकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको एक जना ठेकेदारलाई संघको जिम्मा लगाइएको छ । मंगलबार जिल्ला सदरमुकाम क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको ठेकेदार नारायण श्रेष्ठलाइ तत्कालै काम सम्पन्न गर्ने शर्तनामा गराएर बुधबार बिहान निर्माण ब्यवसायी संघको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिएँ । ‘ हामीलाई सिडियो सापले समात्नु भन्ने आदेश दिए समात्यौ । तत्कालै काम थाल्ने र सम्पन्न गर्ने शर्तनामा गराएर संघका अध्यक्षको जिम्मा लगाएका छौ ’ प्रनाउ रिजालले बताए ।
बनाशकारी भूकम्प पछि जिल्लाको बोलाङ स्वास्थ्य चौकी ठेक्का लिई समय सिमा समाप्त भएको २ बर्ष सम्म पनि काम सम्पन्न नगरेको भन्दै ठेकेदार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बोर्लाङ गाउँपालिका ७ का वडाध्यक्ष समेत रहेका श्रेष्ठले सोही स्थानमा रहेको बोर्लाङ स्वास्थ्य चौकी निर्माणमा हेलचक्रयाइ गरी समयमा निर्माण नगरेको आरोप लागेको छ ।धुलिखेल निर्माण सेवाबाट २०७१ साल बैशाख २८ गते सम्झौता गरी २०७३ साल असार ३ गते सम्पन्न गर्नेगरी लिएको ठेक्का हाल सम्म पनि सम्पन्न गर्न नसके पछि ब्यापक जनगुनासा आएको भन्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले ठेकेदार श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिन भनेका थिए ।
सरकारी निती अनुसार नै काम सम्पन्न गर्न म्याद बाँकी भएकाहरुलाइ पूर्व सूचना दिने र समय सिमा सकिएकाहरुलाइ कानूनी दायरामा ल्याउन प्रजिअ भट्टराई पछिल्लो समय सक्रिय भएका छन ।
जिल्ला भित्रको ठेक्का तथा जिल्ला भित्र काम गर्ने ठेकेदारका बिषयमा बिहीबार दिउसो जिल्ला प्रशासन कार्यालयमा बिशेष छलफलको समेत आयोजना गरीएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी गराएको छ ।


