मोहसिन अलि मियाँ/गोरखा
जेष्ठ १६ गते । भुकम्पले भत्काएको विद्यालय भवन पुनःनिर्माणमा लापरवाही गर्ने ठेकेदार कम्पनी कारबाहीमा परेको छ । धार्चे गाँउपालिका वडा नम्बर ७ लापुको कालरात्री माध्यामिक विद्यालय भवन निर्माणमा ढिलासुस्ती गर्ने एन बि कन्ट्रक्सनलाई ठेक्का रद्ध गर्दै कालोसुचीमा राख्न प्रधानमन्त्रीको कार्यालयमा सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
गुड नेवर्स इन्टरनेशनल र पद्धती विकास सेवा केन्द्रले सो ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । तर निर्माण गरिसक्नुपर्ने समय सिमा कटेको झण्डै ६ महिना कट्दा समेत विद्यालयमा १० प्रतिशत पनि काम हुन नसकेको भनि गोरखा समाचारको जेठ ३ गतेको अंक १९ मा समाचार प्रकाशित भएपछि सो बिषय सार्वजानिक भएको थियो ।
३ करोड २० लाख रकममा एन बि कन्ट्रक्सनले १२ कोठे भवन २०१७ डिसेम्बर अन्तिमसम्ममा निर्माण गर्ने गरि सम्झौता भएको थियो । तर सम्झौतामा उल्लेख भएअनुसार काम नभएपछि ठेकेदार कम्पनीलाई कारबाही गरिएको कार्यालयको भनाई छ । भूकम्प गएको तिन बर्ष बितिसक्दा समेत विद्यालय भवन नबन्दा विद्यार्थी भने अस्थायी टहरामै अध्ययन गर्न बाध्य छन् । भवन निर्माणका लागि एक बर्षअघि विद्यालयको खेलमैदान भरि खाल्डो खनेर छोडेकाले झनै जोखिम बढेको विद्यालयले जनाएको छ ।
त्यस्तै सोही कम्पनीले आरुघाट गाउँपालिकामा रहेका श्री स्थानीय आधारभूत विद्यालय आरुआरवाङमा समेत भवन निर्माण अलपत्र बनाएको थियो । समयसिमा कट्दा समेत काम अघि नबढाएपछि एक पटकका लागि ४५ दिनको म्याद थप गरिएको थियो । तर थप भएको म्यादमा समेत निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता रद्ध गरिएको हो । जिम्मेवारपूर्वक काम नगरेको भन्दै जिल्ला प्रशासन कार्यालयले एन बि कन्ट्रक्सन काठमाण्डौलाई कालोसूचीमा राख्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तरगत रहेको सार्वजानिक खरिद अनुगमन कार्यालयमा सिरफारिस पठाएको छ ।
कालोसूचीमा परेपश्चात सो ठेकेदार कम्पनीले कार्यालयले तोको अवधीभर कुनै पनि ठेक्कापट्टामा प्रतिस्प्रधा समेत गर्न नपाउने प्रशासन कार्यालय गोरखाको भनाई छ ।




















