नरेन्द्र ढकाल/गोरखा
जेष्ठ ११ गते । स्थानीय तहले आफै योजना बनाएर मात्र काम गर्नुपर्ने विज्ञहरुले बताएका छन् । गण्डकी गाउँपालिकाको आयोजनामा मकैसिङको बुटारमा भएको एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु, बजेट, योजना र बिकास मामिलाका जानकारहरुले हरेक स्थानीय तहले यथाशिघ्र आफूलाई आवश्यक अल्पकालिन तथा द्धिर्घकालिन योजना निर्माण गर्नुपर्ने बताएका हुन् । ‘स्थानीय तह आफैमा सरकार हो, यसले निति तथा कार्यक्रम आफैले बनाउने हो, तर बिना योजना काम गर्दा लक्ष्यमा पुग्न सकिदैन’ राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले भने । त्यसका लागि राष्ट्रिय आबाधिक योजनाका आधारमा स्थानीय तहले अल्पकालिन योजना निर्माण गर्नुपर्ने उनको भनाई छ ।
नेपालमा भर्खर संघियताको अभ्यास गरिएकाले स्थानीय स्तरमा प्रयाप्त कर्मचारी र विज्ञ व्यक्तिको अभाव देखिएको भन्दै वाग्ले सरकार गम्भीर हुनु पर्ने बताएका छन । ‘पहिलो कुरा केन्द्र सरकार गम्भीर हुनुपर्छ, कर्मचारी गाउँ पठाउन अब ढिला गर्नु हुन्न्’ वाग्ले भने ‘यदी त्यसो होइन भने स्थानीय तहले आफै हायर गरेर भएनी दक्ष म्यानपावर राख्नुपर्छ ।’ साबिकको ७ बुंकोट गाबिसमा जन्मिएका वाग्लेले जिल्लाका जुनसुकै स्थानीय तहले सल्लाह मागे आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘शहिद लखन मै जन्मिएको गाउँपालिका हो, गण्डकीमा मेरो मामाघर पर्छ, जिल्लाबासी भएकाले सबै स्थानीय तहसँग मेरा भावनात्मक सम्बन्ध छ’ उनले भने ‘उहाँहरुले मागेको खण्डमा म जहिले पनि सकेको सहयोग गर्न तयार छु, आफूले जानेको कुरा निशुल्क सहयोग गर्ने मेरो दर्शन छ ।’
यसैगरी राष्ट्रिय योजना आयोगकै पूर्व उपाध्यक्ष डाक्टर गोबिन्दराज पोखरेलले स्थानीय तहले योजनावद्ध काम गर्नुपर्ने बताएका छन् । गोरखा समाचारसँगको कुराकानीमा पोखरेलले भने ‘विना योजना गरिएको काम प्रतिफल दिदैन्, स्थानीय स्रोत साधन र त्यहाँका जनताको अपेक्षालाई समेटर पहिले योजना बनाउनु आवश्यक छ ।’ स्थानीय तहको एक वर्षे अभ्यास सिक्ने मौका भए पनि अब बाँकी ४ वर्षका लागि आवश्यक अल्पकालिन योजना निर्माणमा स्थानीय तहको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई छ । ‘राज्यका लक्ष्यहरु हुन्छन्, विश्व समुदायसँग गरिएका प्रतिवद्धताहरु हुन्छन्, त्यसका आधारमा स्थानीय आवश्यकतालाई ख्याल गरी योजना निर्माण गर्नु स्थानीय तहको लागि अहिलेको अनिर्वाय आवश्यकता हो’ डाक्टर पोखरलले भने ।
योजना तथा बजेट मामिलाका जानकार डाक्टर बुद्धिमान श्रेष्ठले भौतिक पूर्वाधार तर्फ मात्र बजेट केन्द्रित गर्नुभन्दा आन्तरिक आय मजबुद हुनेका खालका योजनाहरुलाई बढि प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘सधै सडक खनेरमा मात्र गाउँपालिका आत्मनिर्भर हुन सक्दैनन्, सडक पनि चाहिन्छ’ उनले भने ‘तर स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत पनि निर्माण गर्नु प¥यो ।’ त्यसका लागि हरेक स्थानीयको छुट्टै योजना वा खाका चाहिने उनको पनि जोड छ ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ४ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई व्यवसायीक बनाउन स्थानीय तहले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । ‘कृषि देशको मेरुदण्ड हो सोही अनुसार हरेक स्थानीय तहले कृषिलाई प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ‘ तपाइँहरु योजना बनाएर आउनुस् त्यसका लागि आवश्यक सहयोग र समन्वय गर्न प्रदेश सरकार तयार छ ।’
बजेट निर्माण गर्दा के कुरामा ध्यान दिने, कस्ता योजनालाई प्राथमिकतामा राख्ने, योजना छनोट कसरी गर्ने र त्यसले गाउँपालिकाको समृद्धि र बिकास के मद्दत मिल्छ ? भन्ने विषयमा गण्डकी गाउँपालिकाले विज्ञको सुझाव लिएको हो । ‘हामी नयाँ संरचनामा छौ, उहाँहरु जस्तो विद्धानको सहयोगले हामीलाई राम्रो योजना बनाएर काम गर्न मद्दत मिल्नेछ भनेर यो कार्यक्रम गरेका हौं’ गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले भने ।
कार्यक्रममा डाक्टर स्वर्णीम वाग्लेले राष्ट्रिय बिकास सोच, डाक्टर बुद्धिमान श्रेष्ठ स्थानीय योजना र पद्धती, डाक्टर नमराज बुढाथोकी स्थानीय सूचना प्रणाली, डाक्टर गोबिन्दराज पोखरेलले स्थानीय समृद्ध र डाक्टर विश्व पौडेलले शहरमा आधारित बिकासका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा गण्डकी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनधि, शहिद लखन र छिमेकी जिल्ला चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष सहित अन्य जनप्रतिनिधिहरु, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।


