गोरखा समाचारदाता
क्षेत्र २ का सांसद हरिराज अधिकारीले देश समृद्धिको बाटोमा लम्केको बताएका छन् । शहिद लखन गाउँपालिका वडा नं. १ मा रहेको बक्रेश्वर मा.वि.को ६१ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै नेता अधिकारी अब राजनितिक लडाइँ सकिएकाले सरकारको ध्यान बिकास र समृद्धिमा केन्द्रित हुने बताए । ‘हामीले धेरै वर्ष अधिकार प्राप्तीको लडाइँमा बितायौं, सबै कुरा प्राप्त भएको छ अब मुलक समृद्धिको बाटमा लम्कन्छ ।’ नेपालको इतिहासमा एक शक्तिशाली सरकार बनेकाले यसले जनताको अपेक्षा पुरा गर्ने दाबी गर्दै उनले अब धेरै अरुका भरमा बस्ने नपर्ने बताए ।
राजनैतिक परिर्वतनबाट केन्द्र, प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिएको उनले बताए । साना लगानीमा गर्न सकिने योजनाहरु गाउँ तहबाट नै समाधान हुन्छ । केही ठूला योजनाहरु पूरा गर्नका लागि प्रदेश र केन्द्र सरकार तयार रहेको सभासद अधिकारीले बताए । शहीद लखन गाउँपालिकाको यस वडा न. १ खरी बाख्रा उत्पादनको मूख्य आधार क्षेत्र भएका कारण पनि यहाँ तपाईँहरुले यस व्यवसायले अगाडि बढाएर आत्मनिर्भर बन्न बन्नुहोस ।
यहाँका नागरिकहरु कति शक्तिशालि छन भन्ने कुरा यस प्रदेशमा नै नमुना भएर प्रमाणित गरीसकेको दाबी गर्दै गाउँमा चन्दा उठाएर मोटर चल्ने पुल बनाउनु सामान्य नभएको उनले बताए । सबै भन्दा जटिल काम गरिसकेको बताउँदै अरु कामका लागि अझै एकजुट भएर अगाडि बढ्न उनले आग्रह गरे । काम गर्दै जाँदा परेका समस्याहरु समाधान गर्न आफू सँधै तयार रहेको उनको भनाई थियो । यहाँ प्राविधिक शिक्षाको अध्यापन थाल्नुपर्छ भन्दै नेता अधिकारीले यसका लागि आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समस्या इकाइका प्रमुख दिपेन्द्र सुवेदीले विद्यालयले देखाएको पारदर्शीता मनन योग्य रहेको बताउँदै विद्यार्थीको चाप बढाउन सबै लागि पर्नुपर्ने बताए । शिक्षकहरुले पूरा समय विद्यार्थीहरुलाई अध्यापनमा खर्चनु पर्छ भन्दै यहाँको विकास लागि गाउँवासीले देखाएको सक्रियता राम्रो रहेको बताए । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले शहिद लखन वडा नं. १ मा रहेको यस विद्यालयको शैक्षिक भौतिक विकासका लागि आफूले पालिकाबाट सकेको सहयोग गर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुविलास अर्यालले विद्यालयको प्रगति वितरण सुनाएका थिए । कार्यक्रममा विद्यालयले प्रकाशन गरेरको बक्रेश्वरी स्मारिका विमोचन गरिएको थियो । स्थानीय महिला समूहकी अध्यक्ष सिता पोखरेल, शिक्षक दिपेन्द्र ढकाल महेन्द्रशक्ति मावि.का शिक्षक प्रकाश अर्याल, बुद्धिजीवि गोपाल मरहट्टा रामप्रसाद पोखरेल, कवि नारायण प्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका शिक्षक मधुसुदन अर्यालले सञ्चालन गरेका थिए ।




















