गोरखा समाचारदाता
नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समितीका गोरखाबाट १२ जना मनोनित भएका छन् । नेकपा माओवादी केन्द्र र एमालेको एकताबाट बनेको नेकपाले गोरखाका १२ जनालाई केन्द्रिय समितीमा चयन गरेको हो । जसमा माओवादीबाट ११ जना र एमालेबाट १ जना परेका छन् ।
तत्कालिन माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पार्टीको स्थायी समितीमा पर्ने गोरखाका एक मात्र नेता हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ जौबारीका हुन् । गत मंसिरमा भएको प्रतिनिधी सभा निर्वाचनमा उनि डाक्टर बाबुराम भट्टराईसंग झण्डै ७ हजार मतले पराजित भएका थिए । उनि
नेकपाको वरियताक्रममा छैटौ नम्बरमा परेका छन् ।
प्रचण्डका निकट मानिने हितराज पाण्डे पनि केन्द्रिय समितीमा परेका छन् । पूर्व संघिय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका पाण्डे पनि गोरखा क्षेत्र नम्बर २ पालुंटार नगरपालिकाका बासिन्दा हुन् । उनि शहिद तथा बेपत्ता परिवार संगठनका अध्यक्ष समेत हुन् । गत मंसिरमा सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई हराउदै साँसद बनेका हरिराज अधिकारी समेत पार्टीको केन्द्रिय सदस्यमा चयन भएका छन् । उनि क्षेत्र नम्बर १ को गण्डकी गाँउपालिकाका बासिन्दा हुन् ।
केही बर्ष अघि पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव समेत बनिसकेका चुडामणी खड्का (प्रकाश) नेकपाको केन्दिय समितीका परेका छन् । प्रचण्डका अत्यन्त निकट मानिने उनि हाल प्रतिनिधी सभामा समानुपातिक तर्फबाट साँसद समेत छन् । खड्का क्षेत्र नम्बर २ को पालुंटार नगरपालिकाका स्थायी बासी हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका अमर तमु समेत पार्टीको केन्द्रिय सदस्य बनेका छन् । क्षेत्र नम्बर १ शहिद लखन गाँउपालिका नामजुङ घर भएका तमु माओवादीको पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।
प्रदेश नम्बर ४ का भौतिक विकास तथा पूर्वाधार मन्त्री रामशरण बस्नेत पनि केन्द्रिय सदस्यमा चयन भएका छन् । नेकपा एमालेको बैकल्पिक केन्द्रिय सदस्य रहेका बस्नेत गोरखा नगरपालिका ३ नारेश्वर निवासी हुन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनि गत मंसिरका सम्पन्न प्रदेश निर्वाचनमा क्षेत्र नम्बर १ को प्रदेश ख बाट काँग्रेसका राजेन्द्र बजगाँईलाई हराउदै विजयी बनेका थिए । एमालेबाट केन्द्रिय सदस्य बन्ने बस्नेत गोरखाका एक मात्र नेता हुन् ।
२०६४ सालको संविधान सभा निर्वाचनको समानुपातिक तर्फबाट सभासद बनेकी शुसिला सिंखडा नेकपाको केन्द्रिय समितीमा परेकी छिन् । क्षेत्र नम्बर १ को भिमसेन थापा गाँउपालिका घर भएकी सिंखडा गत प्रतिनिधी सभा निर्वाचनमा समानुपातिक उम्मेदवार समेत बनेकी थिइन् ।
दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक सभासद बनेका कृष्ण धिताल केन्द्रिय सदस्य बनेका छन् । तत्कालिन माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका धिताल शहिद लखन गाँउपालिका तान्द्राङका हुन् । त्यस्तै अजिकोट क्षेत्र नम्बर २ को अजिकोट मुच्चोकका दिपक देवकोटा पनि नेकपाको केन्द्रिय सदस्य बन्न सफल भएका छन् । माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका देवकोटा जिल्लामा भने खासै परिचित अनुहार मानिदैनन् ।
तत्काललिन नेकपा माआवादी शान्ति प्रक्रियामा आए लगत्तै प्रतिनिधी सभा सदस्य बनेका परशुराम रम्तेल समेत नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । दलित आन्दोलनका अगुवा मानिने रम्तेल गोरखा नगरपालिका ४ फिनामका हुन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका चिरिञ्जीवी वाग्लेलाई भारी मतले हराउदै सभासद भएकी पार्वती थापा पनि पार्टीको केन्द्रिय समितीमा परेकी छिन् । तत्कालिन समयमा सभासद भएपछि गाँउ फर्केर नआएको आरोप खेपेकी थापा भिमसेन थापा गाँउपालिका अश्राङकी हुन् ।


विद्यार्थी राजनितीका हस्ती मानिने लेखनाथ न्यौपाने समेत नेकपाको केन्द्रिय सदस्य बन्न सफल भएका छन् । गोरखा क्षेत्र नम्बर २ सिरानचोक हर्मीका न्यौपाने माओवादी भित्र अवसर नपाएका नेता मध्ये मानिन्थे । अनेरास्ववियु क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका उनि जिल्लामा भने खासै परिचित छैनन् ।


