गोरखा समाचारदाता
सरकारले इस्लाम धर्म वालम्बीहरुको पर्व विदा कटौती गरेको भन्दै मुस्लिम समुदाय आन्दोलित भएका छन् । सरकारले दिदै गरेको इद र बकर इद तथा मुहम्मद जयन्तीको विदा कटौती गरेपछि सोमबार गोरखाका मुस्लिम समुदायले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।
‘राज्यले मुस्लिम समुदायको धार्मिक, साँस्कृतिक पहिचान बोकेको पर्वहरुलाई अनायसै सार्वजानिक विदाबाट हटायो, हामीले पाइरहेको विदा काटिनु हामीमाथी अन्याय हो’ नेपाल मुस्लिम संघका केन्द्रिय सचिव रहमतुल्ला मियाँले भने ‘सरकारले नेपाली मुस्लिम समुदायलाई दोस्रो दर्जाको नागरिकको नजरमा हेर्यो, यसमा हाम्रो गम्भिर आपत्ती छ ।’

तत्काल इद लगायतका पर्व विदा घोषणा गर्न माग गर्दै हरमटारी चोकबाट बिभिन्न नारा लेखिएको ब्यानर सहित जिल्ला प्रशासन कार्यालय पुगेको करिब ५० जनाको टोलीले प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् । ‘हामीले हाम्रो पर्व पनि मान्न नपाउने कस्तो निर्णय हो ?, सरकारले हामी माथी दमन गर्दैछ, हामी कुनै हालतमा सहन सक्दैनौ, सरकारले तत्काल निर्णय सच्याउनुपर्छ’ मुस्लिम अगुवा अब्दुल करिम मियाँले भने ।
नेपाल मुस्लिम संघको अगुवाईमा गोरखाका मुस्लिम समुदायले सरकारलाई दवाव दिन भन्दै प्रमुख जिल्ला अधिकारी भट्ट मार्फत प्रधानमन्त्रीलाई ६ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको बताएको छ । ‘मुस्लिम समुदायले सदियौदेखि भोगचलन गर्दै आएको कब्रस्थान अहिलेसम्म पनि दर्ता छैनन, यसको पनि कानुनी मान्यता प्रदान गर्न जरुरी छ’ मियाँले भने ।

त्यस्तै संविधानले भने भने अनुसार मुस्लिमहरुको प्रतिशत अनुसार क्लस्टर छुट्याएर विज्ञापन खुलाउन समेत ज्ञापन पत्रमा माग गरेको छ । सरकारले मदरसा दर्ता समेत रोकेकाले तत्काल फुकुवा गर्न उनिहरुको माग छ । ‘संविधानले एउटा भनेको छ, सरकार एउटा गर्छ, के ताल हो यो ?’ मुस्लिम युवा नेता कलाम मियाँ (काजी) भन्छन् ‘मदरसा दर्ता नै रोकेको छ, हाम्रो बच्चाले पढ्नु नपर्ने हो ?’ पछिल्लो समय मुस्लिम आयोगलाई संविधानले संबैधानिक ब्यवस्था गरेकाले कृयाशिल बनाउन ज्ञापनपत्रमा माग गरिएको छ । पहिलो चरणको आन्दोलनका रुपमा ज्ञापन पत्र बुझाइएको र सरकारले माग सम्बोधन नगरे रमजान पछि शसक्त आन्दोलनमा जाने मुस्लिम संघको तयारी रहेको बताएको छ । सरकारले धार्मिक पहिचान खोस्दै संविधानको मर्म विपरित बिदा कटौती गरेको संघको आरोप छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले आफुलाई दिइएको ज्ञापनपत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । ‘तपाईहरुको माग सम्बोधन हुने नहुने बारे मैले बोल्न मिल्ने बिषय होइन, म यो पत्र आजै प्रधानमन्त्रीको कार्यालयमा पठाइदिन्छु’ प्रजिअ भट्टराईले भने ।
संघको केन्द्रिय कार्यक्रम अनुसार सोमबार गोरखा लगायत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघको भनाई छ । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा मुस्लिम संघका केन्द्रिय सदस्य मोहसिन अलि मियाँ, रञ्जानी मियाँ, गोरखाका अध्यक्ष अलिउल्ला मियाँ, सचिव जमिल मियाँ, मुस्लिम समाजका अध्यक्ष बाबुदिन मियाँ, गोरखा मुस्लिम एकता समाजका अध्यक्ष जमिल मियाँ, मुस्लिम अगुवा महिबुब मियाँ, सलावतदिन मियाँ लगायतको उपस्थिती रहेको थियो ।
यस्तो छ ज्ञापन पत्र




