नरेन्द्र ढकाल/गोरखा
जेष्ठ ७ गते । विद्यालय पुनर्निमाणमा नाम चलेका संस्थाहरुको काम सुस्त देखिएको छ । सेभ द चिल्डेन, जाइका, गुडनेवर्स इन्टरनेशनल, भारतीय राजदुताबास, चिनियाँ राजदुतावास लगायत नाम चलेका अन्य दाताहरुले पुनर्निर्माणको जिम्मा लिएका विद्यालय भवनको काम अन्यको तुलनामा निकै सुस्त देखिएको हो । छिमेकी राष्ट्रका दुबै राजदुतावासले निर्माण गर्ने भनिएको विद्यालय भवनको काम नै सुरु नै नभएको गुनासो आएको छ । ‘सबै विद्यालय बने हाम्रो भने भारतीय राजदुतावासले बनाउने भनेको हो, तर अहिलेसम्म सुरु भएको छैन्’ सदरमुकामको महालक्ष्मी माबि लक्ष्मीबजारका सहायक प्रधानाध्यापक टेक बहादुर उपरकोटीले भने । विद्यालय भवन नहुँदा प्सल टु सञ्चालनमा समस्या भएको छ भने विद्यार्थीहरु असुरक्षित भनिएको भवनमा बसेर पढ्न बाध्य भएका छन् । ‘कोठा नपुगेर दिउँसोमा प्लस टु पढाउन पाएका छैनौं, विद्यार्थीलाई असुरक्षित भवनमा राखेर पढाउनु पर्ने बाध्यता छ’ उनले भने । उक्त राजदुतावासले नै बनाउने भनिएको रत्नराज्य मावि डुम्रीडाँडा, तारा माबि छेवेटार लगायतका कुनै पनि विद्यालयमा काम सुरु भएको छैन् । चिनियाँ दुतावासले जिम्मा लिएको विद्यालय कार्यप्रगति पनि नदेखिएको जानकारहरु बताउँछन् ।

यसैगरी बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय ख्याती प्राप्त सस्था सेभ द चिल्ड्रेन र विद्यालय भवनमा विशेष दख्खल राख्ने जापानी सहयोग नियोग जाइकाको काम पनि सन्तोषजक देखिएको छैन् । सेभ द चिल्ड्रेनले गत फेब्रवरीसम्म निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने जिम्मा लिएको माझथर मावि स्वाँराको काम अलपत्र परेको छ । काम सुरु गरेको लामो समय भइसक्दा समेत अहिलेसम्म पुरा नभएको विद्यालयका प्रधानाध्यापक उत्तम बरामले गुनासो गरे । ‘उहाँहरुले हस्तान्तरण गछौं भनेको पनि ३ महिना बितिसकेको छ, अहिले सम्म आधा काम भएको छैन ।’ सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एन बि कन्सट्रसनले २ भवनको निर्माणको ठेक्का सम्झौता गरी २ काम सुरु गरेको थियो । ‘काम गर्ने मान्छे नै छैन, ठेकेदारले सामान पनि ल्याउदैन, बर्खा लागि सक्यो यस वर्षपनि भवन बन्ला जस्तो छैन’ प्रअ बरामले भने ।

१२ कोठे विद्यालय भवन निर्माणको क्रममा ढलान भएको लामो समय भए पनि अन्य काम निकै सुस्त ढङ्गले भइरहेको छ ‘अब बर्खा लागि हाल्यो, गाडी पनि चल्दैन कसरी सामान ल्याएर काम सम्पन्न होला र खै ?’ प्रअ बरामले भने । ठेकदारलाई दबाव दिन सेभ द चिल्ड्रेन, जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ र विद्यालय विच पटक÷पटक छलफल भए पनि काम भने अगाडी नबढेको उनको भनाई छ । विद्यालय भवन नहुँदा अहिले अस्थायी टहरामा पढाई भइरहेको छ । वर्खामा टहरामा पढाउन निकै समस्या भएको शिक्षक विद्यार्थीको गुनासो छ । ‘टहरामा पढ्न गाह्रो हुन्छ, अब झन दिन दिनै पानी आउँछ बोलेको सुनिदैन्, कक्षा भित्रै पानी छिर्छ, विद्यार्थीको पढाई नै प्रभावित भएको छ’ प्रअ बरामले भने ।

यता जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख दिपेन्द्र सुवेदीले पनि काम सुस्त भएको स्वीकार गरेका छन् । ‘कामै नभएको होइन्, अन्य केही सस्थाको तुलनामा त्यहाँ धेरै काम भइसकेको छ, यद्यपी ढिला भएको चाँही अबस्य हो’ उनले भने । तर कार्यालयले भवन निर्माणको काम यथाशिघ्र सम्पन्न गराउन दाता र ठेकेदार दुबैलाई ताकेता गरिरहेको उनले बताए । सेभ द चिल्डे«नले जिम्मा लिएका ७ विद्यालय मध्ये अहिलेसम्म कनकामना निमाबी मसेलको भवन विद्यालयलाई हस्तान्तरण गरिसकेको र एउटा अन्तिम चरणमा पुगेको उनले बताए । अन्यमा भने काम भइरहेको सुवेदीको दाबी छ । भुकम्पले भत्काएका झण्डै ८५ प्रतिशत विद्यालय भवन बनेको दाबी गरिरहँदा नाम चलेका दाताले जिम्मा लिएका विद्यालय भवन भने बन्न सकेका छैनन् ।


