नरेन्द्र ढकाल/गोरखा
जेष्ठ ७ गते । अन्य क्षेत्रको मुआब्जा तोकिएको डेढ वर्ष बितिसक्दा समेत आरुघाट क्षेत्रको मुआब्जा निर्धारण हुन सकेको छैन् । जिल्ला कै दोश्रो आर्थिक केन्द्रको रुपमा रहेको आरुघाटलाई छुट्टै मापदण्ड बनाएर मुआब्जा निर्धारण गर्नुपर्ने भन्दै थाती राखिएको थियो । ‘घरजग्गा रोकेर राखेको छ, व्यापार व्यवसाय सबै ठप्प भइसक्यो, हाम्रो त विचल्ली भएको छ’ स्थानीय व्यवसायी ममता श्रेष्ठले भनिन् । राष्ट्रिय गौरबको १२ मेगावटको बुढिगण्डकी जलविद्युत आयोजना बनाउने भन्दै गोरखा र धादिङका तर्फका साबिकका २७ गाबिसको जग्गा रोक्का गरिएको छ । अयन्त्रका प्रभावितले मुआब्जा रकम पाउन थालिसक्दा समेत त्यहाँ भने मुआब्जा समेत निर्धारण हुन सकेको छैन् । ‘हामीलाई किन पछि पार्न खोजियो, जनता सबै मारमा छन्’ सरोकार समितिका अध्यक्ष समेत रहेका आरुघाटका स्थानीय दिनेश ढकालले भने ‘भन्ने जति सबै ठाउँमा भनिसक्यौं, समस्याले निकास पाएको छैन् ।’
यता अब छिट्टै आरुघाट लगायत बाँकी रहेका सबै क्षेत्रको मुआब्जा निर्धारण हुने बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुर्नबास तथा पुनस्थापना इकाई संयोजक कृष्ण कार्कीले दाबी गरेका छन् । केही समय अघि बनेको अध्ययन समितिको प्रतिवेदनलाई आधार बनाई प्राबिधिक टोलीले थप अध्ययन गरेपछि मुआब्जा निधारण गर्ने तयारी छ । ‘कार्यदलको सुझाबका आधारमा मुआब्जा निर्धारण समितिले कार्यक्षेत्र तोकिसकेको अबस्था छ’ संयोजक कार्कीले भने ‘एउटा प्राविधिक टोली गएर आवश्यक नापजाँच गर्छ, अनि मुआब्जा तोक्छौ ।’
अहिले बुढिगण्डकी क्षेत्र भन्नाले कहाँ सम्मलाई लिने भन्ने विषयमा समझदारी हुन लामो समय लागेकाले मुआब्जा निर्धारणमा ढिलाई भएको उनको भनाई छ । सबै विवरण आएपछि स्थानीय, राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, उर्जा मन्त्री समन्वयमा मुआब्जा तोक्ने आयोजनाको तयारी छ । ‘हामीलाई स्थानीय राजनितिक दल, जनप्रतिनिधी ज्यूहरु र माननिय मन्त्री ज्यूको समेत सहयोग चाहिन्छ’ उनले भने ‘ती कुराहरु भएपछि मुआब्जा निर्धारण हुन्छ ।’ आयोजना कार्यालयले विभिन्न चरणमा छलफलहरु गरी अध्ययन प्रतिवेदनलाई समेत आधार बनाएर मुआब्जा निर्धारण गर्ने कार्कीले बताए ।
२०७३ मंसिरमा आरुघाट क्षेत्र बाहेकको जमिनलाई ११ तहमा वर्गीकरण गरी मुआब्जा तोकिएको थियो । जसअनुसार सबै भन्दा बढि बाक्लो बस्ती र मोटरबाटो दायाँ बायाँ जग्गा हुनेले प्रतिरोपनी ८ लाख ३५ हजार र सबै भन्दा कम (चाहार) बारीले ५ लाख २५ हजार मुआब्जा निर्धारण गरिएको थियो । डुबान क्षेत्र अन्र्तगत सबै भन्दा बढि आबाधी रहेको र जिल्लाको दोश्रो व्यवापारिक नाकाले पछि विशेष अध्ययन गरी निर्धारण गर्ने सहमतीका साथ थाती राखिएको थियो ।
यसैगरी घरगोठ बोट विरुवाको लगत संकलनको कामलाई पनि तिब्रताका साथ सञ्चालन गरी यसै आर्थिक वर्ष भित्र मुआब्जा दिने तयारी गरिएको छ । मुआब्जा रकम बुझिसकेकाहरुलाई पुर्नबास गराउन पनि सम्भावित ठाउँका बारेमा छलफल भइरहेको कार्कीको भनाई छ । यसैवीच मुआब्जा वितरणका लागि यस वर्ष प्राप्त भएको ५ अर्ब रकम अधिकाशं रकम वितरणको अन्तिम तयारीमा रहेको कार्यालयले जनाएको छ । अहिले दुई चरणमा गरी झण्डै एक हजार प्रभावितको खातामा मुआब्जा रकम पठाउने तयारी भइरहेको कार्कीले जानकारी दिनुभयो । केही समय अघि फुजेलका ७०२ लाभग्राहीको खातामा करिब डेढ अर्ब रकम मुआब्जा स्वरुप पठाईसकिएको छ ।
अझै तोकिएन आरुघाट क्षेत्रको मुआब्जा
अझै तोकिएन आरुघाट क्षेत्रको मुआब्जा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















