मोहसिन अलि मियाँ/गोरखा
जेष्ठ ७ गते । भूकम्प गएको तिन बर्ष बितिसक्दा समेत लाभग्राहीमा नाम छुट भएकाहरुको गुनासो अझै सम्बोधन हुन सकेको छैन । भूकम्पमा घर भत्केपनि निजि आवास पुनःनिर्माणका लागि सरकारले दिने अनुदानको लाभग्राही सुचीमा नाम छुटेको भन्दै गुनासो फारम भरेका झण्डै १५ हजारको घरपरिवार अन्यौलमा परेका छन् ।
‘घर भूकम्पले लड्यो, बस्ने घर अरु छैन, सुरुमा १५ हजार पनि लिए, पछि घर बनाउने अनुदानको लिस्टमा नाम परेनछ, अछि गुनासो फारम भरे, नाम अहिलेसम्म निस्किएको छैन ?’ आरुपोखरीका रामकृष्ण खनालले भने ‘इन्जिनियरले तिन पल्ट त नापेरै लगे, नाम आउछ ढुक्क हुनुस भनेर गका थिए’ भूकम्प गएको तिन बर्ष भन्दा बढि समय हुदा समेत गुनासो सम्बोधन हुन नसक्दा लाभग्राहीमा नाम छुटेका भुकम्प पिडित मर्कामा परेका छन् । ‘हामी कति टहरामा बस्ने, नाम आउछ भनेर पर्खेको तिन बर्ष कट्यो, अझै कति कुर्नु पर्ने हो ?’ उनले भने ।
गत साउनदेखि लाभग्राहीमा नाम छुट भई गुनासो फारम भरेका झण्डै १२ हजार घर सरकारले पुनःसर्वेक्षण गरेको थियो । तर पुनःसर्वेक्षण भएको लामो समय बितिसक्दा समेत सरकारले लाभग्राहीको लिष्ट हालसम्म पनि सार्वजानिक नगर्दा भुकम्प पिडितलाई भने थप पिडा थपिएको छ । ‘भएको घर भत्किगयो, एउटा टहरामा बस्न थालेको यत्रो बर्ष भइसक्यो, सबैले घर बनाईसके, हाम्रो अहिलेसम्म नाम समेत आको छैन’ खनालले भने ।
यस बर्ष छिट्टै मनसुन सुरु भइ दैनिक बर्षा हुदा उनिहरु थप पिडा सहन बाध्य भएका छन् । भुकम्प लगत्तै निर्माण गरेको अस्थायी टहरा समेत जिर्ण बन्दा उनिहरुलाई झनै सास्ती थपिएको हो । ‘भूइचालो जाने बित्तिकै टहरा बनाइयो, एक बर्ष त ठिकै धानेको हो, अहिले पुरै पानी चुहिएर रातभरी जागराम बस्नुपर्छ’ सिमजुङका सुरज गुरुङले भने ।
लाभग्राहीमा नाम ननिस्केपनि घर बनाइसकेका भुकम्प पिडितको पनि समस्या कम छैन । साहुसंग ऋण लिएर घर बनाएका हर्मीका अमृत भुजेललाई आजकल निक्कै चिन्ताले सताएको बताउछन् । ‘भूकम्पपिडितको लिस्टमा नाम परिहाल्छ, त्यै पैसा तिरौला भनेर साहुसंग ऋण लिएर घर बनाए, आजकल दिनदिनै साहुले फोन गर्छन्, कहाबाट ल्याएर तिर्ने मलाई त ठूलो संकट आइलाग्यो’
यता राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालयका शिवलाल पौडेल भने अब छिट्टै गुनासो सम्बोधन हुने दावी गर्छन् । गत साउनदेखि कार्तिक मसान्तसम्म जिल्लाभर पुनःसर्वेक्षण भएका घरधुरीको गुनासोको सम्बोधन आगामी २० गतेसम्म हुने केन्द्रबाट सुचना आएको पौडेलको भनाई छ । ‘अस्ति नै हुनुपर्ने हो, केही प्राविधिक जटिलताले ढिलो हुन गएको हो, अब केही दिन भित्रै सबै सार्वजानिक गर्ने भनेर केन्द्रले सुचना गरेको छ’
सरकारले भूकम्प पिडितलाई दोस्रो किस्ताका लागि असार मसान्तसम्मको समयसिमा तोकेको छ । तर जेठ दोस्रो सातासम्म पनि गुनासो फारम भरेकाहरुको गुनासो सम्बोधन नहुदा पुनःनिर्माणको काममा ढिलाई हुने निश्चित भएको छ । यता जिल्लाका केही स्थानमा लाभग्राहीमा नाम छुट भई गुनासो फारम भरेका करिब ४ हजार घरको नै पुनःसर्वेक्षण गर्न बाँकी रहेको कार्यालयले बताएको छ ।




















