नबिन कुइकेल
गोरखा, ५ जेठ । नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेश समितिले जिल्लामा कार्यरत श्रमजिवि पत्रकारहरुको अबस्था बुझ्न जिल्ला शाखालाई निर्देशन दिएको छ ।
जेठ ३ र ४ गते गोरखाको गोरखाबजारमा बसेको दोस्रो बैठकले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुमा श्रमजिवि ऐन कार्यन्वयन भएनभएको अबस्था बुझ्न जिल्ला शाखालाई निर्देशन दिएको हो । यस्तै सदस्यता सुद्धिकरणलाई प्राथमिकतामा राख्दै २ बर्षभन्दा बढि विदेशमा बसेका सदस्य क्रियाशील भए विदेशस्थित शाखामा सदस्यता स्थानान्तरण गर्न र क्रियाशील नभएका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग्न आग्रह गरेको छ ।
भदौ ७ र ८ गते पोखरामा हुने प्रदेश साधारण सभाले सदस्यता सुद्धिकरणका विषयमा निर्णय गर्ने अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए । प्रदेश साधारणसभा हुनुअघि यही महिनाको २६ गते जिल्ला अध्यक्ष र सचिवको भेला गर्ने भएको छ । भेला पर्वतमा आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारलाई सुचनाको हक र सञ्चार प्रति जिम्मेवार र उत्तरदायी हुन आग्रह गर्दै प्रदेशस्तर आमसञ्चार प्रतिष्ठान स्थापना गर्न माग गरेको छ । समानुपातिक विज्ञापन निती ब्यबहारिक रुपमा कार्यान्वयनका लागी पनि प्रदेश सरकारसँग महासंघले माग गरेको छ । बैठकले पदाधिकारी सम्मिलित सचिवालय गठन गरेको छ । अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा अन्तर्राष्ट्रिय तथा अन्तरप्रदेश समन्वय समिति, उपाध्यक्ष नारायण शर्माको संयोजकत्वमा तालिम तथा प्रशिक्षण समिति, महिला उपाध्यक्ष शान्ति गुरुङको संयोजकत्वमा महिला विभाग, महासचिव गणेश पौडेलको संयोजकत्वमा संगठन विभाग गठन गरिएको छ ।

यस्तै सचिव इन्द्र पौडेलको संयोजकत्वमा प्रकाशन, समावेशी सचिव रुद्र श्रीसको संयोजकत्वमा श्रमजिवी कार्यन्वयन तथा समन्वय समिति, कोषाध्यक्ष दीपक भट्टराईको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । बैठकले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारमा बरिष्ठ पत्रकार कोमलनाथ बराल, रविन्द्र बास्तोला र नवराज सुवेदी रहेका छन् । यस्तै प्रदेश चारमा रहेका पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यहरु सम्मिलित अनुशासन समिति गठन गरिएको महासचिव गणेश पौडेलले जानकारी दिए ।
बैठकले गोरखाको धार्मिक, सांस्कृतिक र पर्यटन विकासका लागी सरोकारवालाको ध्यानाकर्षण गराएको छ । गोरखाको विकासमा सम्बन्धीत सबैको ध्यानकर्षण गराउदै महासंघले सुचना र समाचार मार्फत भुमिका खेल्दै सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।


