नरेन्द्र ढकाल/गोरखा
जेष्ठ ४ गते । भूकम्पले भत्काएको घर निर्माण गर्नका लागि भूकम्प पिडितले आफ्नो जायजेथा समेत बेचेका छन् । सरकारले दिएको ३ लाख अनुदानले घर नबन्ने भएपछि खेतबारी र पशु चौपाया बेच्नु परेको उनीहरुको गुनासो छ ।
‘दुध खाँदा खादैको भैसी पनि बेचेँ घर बनाउनका लागि पैसा पार्ने अरु केही भएन’ सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुकी शुष्मा बानियाँले भनिन् । गाउँले सबैले घर बनाउन थालिसक्दा समेत घरको डिपिसी समेत बनाउन नसकेकी बानियाँले दुहुनो भैसी ४० हजारमा बेचिन् । ‘सामान माग्न जाँदा साहुले पत्याएन, दिनभरी पसलमा गएर बसें साहुले सामान दिएन अनि गोठको भैसी बेचिदिएँ’ उनले भनिन् । भैसी र पाडो बेचेर जम्मा पारेको ६० हजार रुपयाँले सामान किनेर बानियाँले घर निर्माण सुरु गर्नुपरयो ।
यस्तै समस्या जिल्लाका अन्य ठाउँका भूकम्प पिडितलाई पनि छ । आम्दानीको अन्य श्रोत नभएका अति विपन्न परिवारका भूकम्प पिडितहरु घर बनाउनका लागि आफ्नो जायजेथा बेच्न बिवश भएका हुन् । ‘हातमा पैसा नभएसम्म हामी आइमाई मानिसको काम कसैले गरिदिदो रहेनछ’ बानियाँले भनिन् ‘सधै टहरामा बस्न सकिएन भएको बेचबाच पारेर भएपनि घर बनाउनु प¥यो ।’ श्रीमान् नभएका कारण पनि उनलाई उक्त बाध्यता आइपरेको हो ।
साना छोराछोरीलाई दुध खादै गरेको भैसी बेच्दा पनि रकम नपुगेपछि ऋण समेत गर्नुपरेको उनको गुनासो छ । एकल महिला भएका कारण ३ वर्ष सम्म घर बनाउन नसकेकी बानियाँको घर निर्माणका लागि केयर नेपाल र एकिकरण नेपालले डिपिसीका लागि आवश्यक सामाग्री र दक्ष मजदुर सहयोग गरिदिएको हो । ‘उहाँहरुले त्यत्ति सहयोग नगरेको भए, अहिले डिपिसी सम्म पनि गर्न सक्थिन होला’ सुस्केरा हाल्दै बानियाँले भनिन् । उक्त सहयोग पश्चात उनको घर निर्माण भएको छ । तेश्रो किस्ताको प्रतिक्षामा बसेकी उनको घरले पुर्णता भने पाएको छैन् । ‘अब तेश्रो किस्ता आउछ, अनि प्लाष्टरको काम गर्नुपर्ला, साहु बुझाउन बाँकी नै छ’ उनले थपिन ।
जिल्लामा झण्डै ५० हजार घर निर्माण भइरहेको भनिएका बेला अन्यन्त्र पनि यस्तै समस्याले पुनर्निमाणको काम प्रभावित भइरहेको छ । सोही समस्यालाई मध्येनजर गर्दै केयर नेपाल र एकिकरण नेपालले घर बनाउन नसकेका प्रभावितहरुलाई सहयोग गरेको हो । ‘हामीले थोरै सहयोग गर्दा घर बन्छ भने किन नगर्ने भन्ने उदेश्यले नै उहाँहरुलाई यो सहयोग गरेका हौं’ एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले भने ।
उक्त सहयोगले सकटाशन्ना अबस्थामा रहेका पिडितहरुलाई ठूलो मद्दत गरेको वडा अध्यक्ष नारायण बाबु दानीको भनाई छ । ‘यो कार्यक्रमले घर बनाउन धेरै मद्दत मिलेको छ, यस्तै सहयोग हुने हो भने पुर्ननिर्माणको कामले पूर्णता पनि पाउँछ’ उनले भने । जिल्लाका विभिन्न ठाउँमा घर बनाउन नसकेकाहरुलाई यस्ता खालका कार्यक्रम मार्फत उत्पेरणा जनाउने काम भइरहेको छ ।


