मोहसिन अलि मियाँ/गोरखा
मुस्लिम समुदायको एक महिने ब्रत आजबाट सुरु भएको छ । यो रमजान महिनामा पर्ने गर्दछ । अरबिक क्यालेण्डर अनुसार नबौ महिनामा पर्ने महिना रमजान भर मुस्लिम समुदायका मानिस ब्रत बस्ने प्रचलन रहेको धार्मिक गुरुहरु बताउछन् ।
‘इस्लाम धर्ममा पाँच आधार स्तम्भ छन्, ति मध्येको एक रमजानको रोजा अर्थात व्रत पनि हो ।’ गोरखा नगरपालिका २ का हाजी नवि बकस मियाँ भन्छन ‘यो महिना अरु महिना भन्दा धेरै महत्वपूर्ण महिना हो ।’ हरेक दिन बिहान सूर्य उदाउनु भन्दा केहि समय अगाडी सेहरी खाएर सुरु हुने रोजा बेलुका घाम अस्ताए पछि इफ्तारी गरेपछि सकिने गर्दछ ।
दिन भर पानी सम्म पनि नखाईसक्षम मुस्लिम समुदायका मानिसहरु एक महिना सम्म रोजा बस्ने प्रचलन रहेको छ । यो महिना भर अल्लाहको प्रार्थना गर्नाले अरु महिना भन्दा धेरै गुणा पुण्यमा बृद्धि भई पाप नष्ट हुने हाजी मियाँको भनाई छ । सदा झै दिनको पाँच पटक नमाज र बेलुका तराबीको नमाज पढ्ने र सके सम्म धेरै अल्लाहको प्रार्थना गर्नाले लोक प्रलोक दुबैमा फाइदा हुने उनको तर्क छ ।
रोजा बस्न नसक्ने बृद्ध, बृद्धा, बालबालिका, बिरामी, अशक्त, रजश्वला भएकी महिलाहरुलाई भने यो अनिबार्य नभएको मुस्लिम अगुवाहरु बताउछन् । ‘एक महिनासम्मको रोजा सक्नेका लागि मात्रै हो, बिरामी, सुत्केरी, असक्त तथा बुढाबुढि, बच्चाहरुका लागि भने छुट छ, तर सक्षमले भने अनिवार्य रुपमा बस्नै पर्ने हुन्छ’ गोरखा बजारका बाबुदिन मियाँले भने ।
यो महिनामा एक बर्ष सम्म आफुले कमाएको सम्पत्तीको केहि प्रतिशत धार्मिक करका रुपमा अनिबार्य छुट्याउनु पर्ने मियाँले बताएका छन् । यसरी छुट्याएको रकम वा सम्पत्ति गरिब दुखीहरुलाइ दान गर्ने प्रचलन रहेको उनको भनाई छ । आजबाट सुरु भएको एक ब्रत रमजान महिनाको अन्तिम तारिखका दिन आकाशमा अर्ध चन्द्रमा देखेपछि समाप्त हुने र भोलीपल्ट इद पर्वका रुपमा मनाउने मुस्लिम समुदायमा प्रचलन रहि आएको छ ।


