मोहसिन अलि मियाँ/गोरखा
जेष्ठ ३ गते । गुड नेवर्स इन्टरनेशनलले निर्माण जिम्मा लिएको लापुको एक विद्यालय भवन बन्न नसक्दा विद्यार्थी मर्कामा परेका छन् । धार्चे गाँउपालिका वडा नम्बर ७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माण हुन सक्दा विद्यार्थी टहरामा पढ्न बाध्य भएका छन् । ‘जिएनआईले गत डिसेम्बरसम्म विद्यालय बनाइसक्ने भनेर विद्यालयसंग सम्झौता भएको हो, समयसिमा नाघेको आज पाँच महिनाभन्दा बढि भयो, १० प्रतिशत पनि काम भएको छैन’ विद्यालयका प्रधानाध्यापक रामकृष्ण खनालले भने ‘लेकको ठाँउ छ, अहिलेसम्म पनि अस्थायी बाँसको टहरामा कक्षा चलाउनु परेको छ ।’ गुडनेवर्सले पाएको समय सिमा ५ महिना कटिसक्दा समेत अहिले सम्म १० प्रतिशत समेत काम नभएको विद्यालयको गुनासो छ ।
विद्यालय भवन बनाउन गुड नेवर्सले पद्धती विकास सेवा केन्द्र मार्फत एन बि कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेकेदार कम्पनीले ढुवानीको समस्या देखाउदै निर्माण कार्य रोकेको हो । १२ कोठे भवन बनाउनका लागि गुड नेवर्सले ठेकेदार कम्पनीलाई तिन करोड २० लाख रकममा सम्झौता गरेको थियो । गत बर्षको डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भएपनि समयसिमा नाघेको ५ महिना बित्दा समेत काम अघि बढ्न सकेको छैन । ‘६÷६ वटा कोठाको दुई वटा भवन बनाउने भनेका थिए, एउटा भवनको डिपिसी भएर पिलरसम्म हालेको छ, अर्कोको त झनै विजोग छ, ग्राउण्ड भरी जगका खाल्डै खाल्डो खनेर छोडका छन्’ प्रधानाध्यापक खनालले भने ।
दातृ निकाय गुड नेवर्स र स्थानीय साझेदार संस्था पद्धती विकास सेवा केन्द्रले विद्यालय भवन निर्माणमा खासै वास्ता नगरेकाले ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयको आरोप छ । ‘भवन निर्माण गर्छु भनेर जिएआइले पद्धती मार्फत जिम्मा लियो, अनि काठमाण्डौको ठेकेदारलाई खोजेर ल्याएर ठेक्का दिएर उहाँहरु ढुक्कसंग बस्नुभयो, अहिले यो हालत भयो, अरु सबै स्कुल बनिसके, हाम्रा बच्चा कहिलेसम्म टहरामा पढाउने ?’ स्थानीय आइते गुरुङले भने ।

भुकम्प गएको तिन बर्ष बितिसक्दा समेत विद्यालय भवन पुनःनिर्माण गर्नुको सट्टा ठूला ठूला खाल्डा खनेर छोड्दा झनै समस्या थपिएको विद्यालयको भनाई छ । ‘भवन त बनेन बनेन, यो खाल्डो बनाएर छोडेको महिनौ भइसक्यो, बच्चाहरु खेल्ने चौरमा सबै खाल्डो छन्, यसले त झनै जोखिम बढायो’ विद्यालयका एक शिक्षकले भन्छन ‘टहरोमा पढाउदा यता कोठा र उता कोठाको आवास जुधेर धेरै समस्या भयो, घाम पानी, हावा हुरी आको बेला त विद्यालय नै बन्द गरेर बस्नुपर्ने बाध्यता छ’ ।
ठेकेदार कम्पनीले काम गर्ने छाँट देखेपछि अहिले भने विद्यालय ब्यवस्थापन समितीले नै कामको जिम्मा लिएर भवनको पुननिर्माण गर्न लागेको बताएको छ । ‘अब ठेकदारले काम गर्ने छाट देखिएन, अनि जिएनआइ र पद्धतीलाई बोलाएर विव्यसले गर्ने भनेर हामीले निर्ण गरेका छौ, जसो तसो विद्यालय त बनाउनै प¥यो, कति टहराको समस्या झेल्नु ?’ प्रधानाध्यापक खनालले भने ।

यता गुड नेवर्स इन्टरनेशनलका जिल्ला प्रमुख द्रोर्ण जिसी भने विद्यालयको भवन नबन्नुमा ठेकेदार कम्पनीको लापरवाही मुख्य कारण भएको भन्दै पन्छिन खाजे ‘हामीले भवन बनाउन ठेकेदारलाई जिम्मा लगाएका हौ, सुरुमा त केही समय काम पनि गरेको हो, पछि ढुवानीमा समस्या भयो भनेर काम गर्न खोजेन, अहिले विद्यालयलाई नै जिम्मा लगाएर काम गराउदै छौ’ जिल्ला प्रमुख जिसी भन्छन ‘अब विव्यसलाई असार मसान्तसम्मको समयसिमा दिएका छौ’


