गोरखा समारचारदाता
जिल्लाको धार्चे गाउँपालिकको केन्द्र माछा खोला राख्न प्रदेश सरकारले सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश ४ को मन्त्रिपरिषद् बैठकले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सार्न सिफारिस गरेको हो । प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँ सभाका दुई तिहाइ सदस्यको निर्णय अनुसार वडा नं ५ को गुम्दाबाट माछा खोलामा सार्न सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
वडा नं ३ का वडाअध्यक्ष इन्द्र प्रसाद गुरुङको संयोजकतामा सबै वडाको अध्यक्षहरु सदस्य हुने गरि केन्द्र राख्ने स्थल खोजी गर्ने निर्णय गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनलाई २०७४ भदौ ३१ गते बसेको गाउँ कार्यपालिकाको बैठकले अनुमोदन गरी सबैलाई पायक पर्ने भनि गाउँपालिकाको माछाखोला नै राख्ने निर्णय गरेको थियो । समितिले प्रदेशमा प्रतिवेदन बुझाएका पछि प्रदेशको मन्त्रिपरिष बैठकले बुधवार माछाखोलामा नै केन्द« सार्न सिफारिस गरेको हो ।
त्यस्तै बैठकले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाको सिमाना हेरफेर गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाले गरेको निर्णयअनुसार साबिकको ल्वाङघलेल गाविसको १ देखि ४ नं वडालाई वडा नं ८ र ५ देखि ९ नं वडालाई ९ नं वडामा रहने गरी सिफारिस गर्ने निर्णय गरिएको छ ।
मन्त्री बस्नेतका अनुसार प्रदेशको आर्थिक कार्यविधि नियमावली नबन्दासम्म नेपाल सरकारको आर्थिक कार्यविधि नियमावली २०६४ बमोजिम कार्यसम्पादन गर्ने बैठकले निर्णय गरेको छ । सरकारले आव २०७५/०७६ को बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उनले तत्काल सशर्त र विशेष अनुदानबाहेक २० अर्बको सिलिङअनुसार बजेट ल्याउन लागिएको बताए ।
बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खोप ऐन, २०७५ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को २०७४ चैत १४ को बैठकबाट प्राकृतिक स्रोत साधन दोहन भएको सम्बन्धमा गठित कार्यदलबाट आजको बैठकमा प्रतिवेदन पेश भएकामा त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर आगामी मन्त्रिपरिषद् बैठकमा ल्याउन उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।
यही आव २०७५/०७६ को बजेट अधिवेशन आगामी जेठ १६ गते ४ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि भएको छ ।


