- कतै बनाउने चटारो, कतै भत्काउने
मोहसिन अलि मियाँ/गोरखा
जेष्ठ १ गते । धार्चे गाँउपालिका वडा नम्बर ७ लापुका स्थानीय भूकम्प पिडितले धमाधम घर भत्काएका छन् । गत बर्ष मात्रै लाखौ खर्च गरेर पुनःनिर्माण गरेको घर सरकारले खाटाएका इन्जिनियरले पास नगर्दा उनिहरुले घर भत्काउन बाध्य भएका हुन् । ‘सेभ द चिल्डूेन र सिआरएसले हामी सबैलाई तालिम दियो, घर यसरी बनाउनुपर्छ भनेर भिडियो देखायो, अनि हामीले त्यसरी नै बनायौ, अहिले सरकारी इन्जिनियरले पास हुदै हुदैन भन्छन्’ लापु पुछार गाँउका बहादुर गुरुङले भने ।

भूकम्प लगत्तै सेभ द चिल्डूेन र सिआरएसले दिएको भुकम्प प्रतिरोधी घर निर्माणको तालिम लिएर घर बनाएका लापुका भूकम्पपिडितको राष्टिूय पुनःनिर्माण प्राधिकरणबाट खटिएका प्राविधिकले मापदण्ड विपरित बनेको भन्दै पास नहुने भनेपछि भत्काउन थालेका हुन् ।
संस्थाले तालिममा सिकाए अनुसार नै भूकम्पप्रतिरोधी घर बनाएका लापुबासी इन्जिनियरले पास नगर्ने भनेपछि वडा कार्यालय समेत गए । तर वडा कार्यालयले पनि प्राबिधिकले मापदण्ड पुरा नगरेको भनेपछि आफुहरुले केही गर्न नसक्ने बताएको उनको भनाई छ । ‘इन्जिनियरले पास हुदैन भनेपछि हामी सबैले वडा कार्यालयमा निवेदन पनि दियौं, वडा अध्यक्षले इन्जिनियरले भनेका कुरामा आफुले केही बोल्नु मिल्दैन भनेर घर भत्काउनु पर्छ भन्नुभयो’ उनले भने ।

तालिममा सिके अनुसार नै ४ सुरमा ४ वटा काठको खम्बा हालेर ६ फिट गारो सहित ४ वटा काठको बन्धन समेत राखेर घर बनाए पनि पास नहुने देखेपछि घर भत्काएर नयाँ घर बनाउने प्रक्रिया थालेको बताएका हुन् । ‘तालिम लिएर गाँउमा सबैभन्दा पहिला घर मैले नै बनाएको हुँ, संस्थाका इन्जिनियरले घर ठिक छ, पास हुन्छ, सबैले यस्तै बनाउनुस भनेका थिए, गाँउका सबै मिलेर पर्म लगाएर सबैका घर बनायौ, अहिले आएर यस्तो हालत भयो’ बहादुर गुरुङले दुखेसो गरे । घर बनाउदा सिमेन्ट, रड नहालेको भन्दै इन्जिनियरले घर पास नहुने बताए पछि उक्त समस्या आएको हो ।

मापदण्ड विपरित बनेका घर कालोसुचीमा पर्ने र पहिलो किस्ता वापत पाएको ५० हजार समेत फिर्ता गर्नुपर्ने बताउपछि घर भत्काउन बाध्य भएको स्थानीयको भनाई छ । ‘घर बनाउदा रड, सिमेन्ट हाल्नुप¥र्यो रे, हामीले काठले कसेर बनायौ, अनि यसरी बनाएको घर कालोसुचीमा पर्छ अनि पहिला पाएको ५० हजार पनि फिर्ता गर्नुपर्छ भनेपछि हामीले गाँउका सबै घर भत्काएका हौं’ स्थानीय सुप्रिम गुरुङले भने ।
प्राधिकरणका इन्जिनियरले घर पास गराउन अन्तिम बिकल्पका रुपमा नेतालाई भन्नुपर्ने बताएपछि उनिहरुले त्यो कसर समेत बाँकी राखेनन् । ५ देखि ६ लाख खर्च गरेर बनाएको घर फेरि भत्काएर बनाउन अब १० लाख भन्दा बढि लाग्ने उनिहरुले अनुमान गरेका छन् । ‘पहिला ६ लाख लाग्यो, अब यो भत्काउन १ लाख लाग्छ, अनि बनाउन अर्को दश लाख, इन्जिनियरले रड, सिमेन्ट हाल्नुपर्छ भनेका छन्’ सुप्रिमले भने ‘ढुवानी गर्नै समस्या छ, सामानको भन्दा ढुवानी बढि लाग्छ, खेताला ५ सय बाट १५ सय पुगेका छन्, कसरी बनाउने हो थाहा छैन ।
यता धार्चे गाँउपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सूर्यमान गुरुङ समेत आफुले घर भत्काउन भनेको स्विर्काछन् ‘सरकारले घर कालोसुचीमा राख्ने भनेको छ, गाँउलेलाइ कालो सुचीमा त पार्नु भएन नि ? त्यै भएर सबैलाई नयाँ बनाउनुस भनेको हुँ’ वडा अध्यक्ष गुरुङ भन्छन् : ‘इन्जिनियरले मापडण्ड पुग्दैन भनेकै हो, पास नहुने भएपछि किन राख्ने सबै भत्काएर नयाँ बनाउन भन्दिए हुँ’।

यता शहरी विकास तथा भवन निर्माण विभाग डिभिजनका प्रमुख रोशन श्रेष्ठ भने आफुलाई यस बिषयमा जानकारी नभएको बताए । इन्जिनियरले घर भत्काउनु पर्छ भनेर भन्ने अधिकार नभएको भन्दै उनी भन्छन् ‘मापदण्ड नपुगेका घरलाई कसरी मापदण्ड पुरयाउने, के थपघट गर्नुपर्छ त्यो भन्ने र मर्मत गराउने त्यसबारे सचेत गराउने हो, भत्काउने होइन ।’
धार्चे गाँउपालिका वडा नम्बर ७ मा भुकम्प लगत्तै करिब ५५ घर निर्माण भएको लापुको सिरान र पुछार गाँउमा अहिले घर बनाउने भन्दा पनि भत्काउने चटारो छ । राज्यले काम गर्न अनुमती दिएका गैरसरकारी संस्था राज्यले खटाएका इन्जिनियरको तालमेल नमिल्दा लापुवासी मात्रै हैनन् जिल्लाका धेरै भुकम्पपिडितले सास्ती ब्यहोर्नु परेको छ ।

पुनःपर्म लगाउदै सबै घर भत्काएर नयाँ बनाउने तयारीमा लागेका लापुका भूकम्प पिडितलाई सरकारले असार मसान्त सम्म तोकेको समयसिमाले झनै पिडा थपिदिएको छ ।


