गोरखा समाचारदाता
बैशाख ३१ गते । एक ६५ वर्षीय वृद्धले आफ्नै छोरीलाई पटक/पटक जबरजस्ती करणी गर्ने गरेको आरोप लागेको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय ती वृद्धले अन्दाजी १४/१५ वर्षकी आफ्नी छोरीलाई जबरजस्ती गर्ने गरेको प्रहरीमा बयान दिएका छन् ।
‘प्रारम्भिक बयानमा उनले आफूले करणी गरेको स्वीकार गरेका छन’ जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक कमला नरालले भनिन् ‘उनलाई म्याद थप गरी अनुसन्धान गरिरहेका छौ ।’ सुस्त मनस्थितीकी ती बालिकालाई जर्बजस्ती करणी गरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनकी श्रीमती (बालिकाकी आमा) थाहा पाएको भए पनि ती वृद्धले धम्क्याएका कारण उक्त घटना बाहिर नआएको नरालको भनाई छ । ‘भनिस् भने तँलाई र्मादिन्छु भन्दै श्रीमतीलाई कुट्दा रहेछन’ उनले भनिन् ‘गाउँले थाहा पाएपछि मात्र हामीकहाँ जानकारी आयो ।’
पिडित बालिकाको स्वास्थ परिक्षणका क्रममा पनि उनी बारम्बार जबरजस्ती करणी शिकार हुने गरेको भेटिएको छ । ‘रिर्पोट हेर्दा एक दुईचोटी हैन, धेरै पटक त्यस्तो भएको हुनुपर्छ’ प्रहरी निरीक्षक नरालले भनिन् ‘उक्त कार्य धेरै अगाडी देखि बारम्बार भएको देखिन्छ ।’
अन्य सन्तान पनि सुस्त मनस्थिती भएका कारण प्रतिरोध गर्ने कोही नभएको प्रहरीको निष्कर्ष छ । पिडक वृद्धलाई आइतबार जिल्ला अदालत गोरखाबाट म्याद थपगरी अनुसन्धान गरिएको प्रहरी निरीक्षक नरालले बताईन् ।
गोरखामा पछिल्लो समय जबरजस्ती करणीका घटना बढेका छन् । केही दिन अघि आफ्नै आमालाई छोराले करणी गर्ने गरेको घटना सार्वजानिक भएको थियो ।
८ वर्षकी बालिका देखि अपाङ्गगता भएकी महिला सम्म जर्बजस्ती करणीको शिकार भएका घटना एकपछि अर्को सर्वाजानिक भइरहेका छन् ।




















