गोरखा समाचारदाता
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालयले एक वर्षमा भएका कार्यक्रम सार्वजानिक गरेको छ । आईतबार पत्रकार भेटघाट गरी कार्यालय प्रमुख दयाराम गौतमले राज्यको युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य अनुसार कार्यालय काम गरिरहेको जानकारी दिए ।
प्रत्येक युवाको हातमा सिप, तालिम प्राप्त युवालाई उद्यमी र बनाइ बैदेशिक रोजगारमा युवा पलायनमा न्यूनिकरण, युवा सृर्जना केन्द्रको स्थापना र युवाको चौतर्फी क्रियाकलाप सञ्चालन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । राष्ट्रिय युवा समितिका जिल्ला अध्यक्ष अनिता भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख गौतमले एकवर्ष भित्र भएगरेका कामबारे जिल्लामा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासघंका जिल्ला उपाध्यक्ष दिपक श्रेष्ठले लाखौं युवा विदेशिरहेको सन्र्दभमा कार्यालयले बास्तविक व्यक्ति र समूहको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यालयले युवाहरुलाई स्वरोजगार बनाउनका लागि व्यवसायी कृषि, पशुपालन, जिवन उपयोगी सिप प्रदान गर्न लगानी गर्ने गरेको छ ।
विभिन्न दिवश तथा सन्र्दभमा कार्यालयले युवाहरुलाई सचेत बनाउने खालका विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको समितिकी कम्प्युटर अपरेटर अञ्जना तिवारीले जानकारी दिइन् ।


