नरेन्द्र ढकाल/गोरखा
बैशाख २८ गते । बुधबार साँझ छेवेटारमा भएको सवारी दुर्घटनाका मृत्तकका परिवारले शव बुझेका छैनन् । घटनाका दोषीलाई कारवाही र उचित क्षतिपूर्तीको माग्दै उनीहरुले अहिले सम्म शव नबुझेको मृत्तकका आफन्तलहरुले बताएका छन् । ‘घटना भइसक्यो अब मान्छे फिर्ता आउँदैन तर उसको परिवारले पाउने पर्ने क्षतिपूर्ति त पाउनु परयो नी’ मृत्तककी आफन्त मध्येकी एक सुमती श्रेष्ठले भनिन् ।
गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा गुडिरहेको ट्रकले ठक्कर दिदा स्थानीय चन्द्रमान श्रेष्ठको घटना स्थलमै ज्यान गए पछि अहिले उनीहरुको परिवार शोकमा डुबेको छ । २८ वर्षीय श्रेष्ठको परिवारमा मृत्युले अन्य सदस्यलाई हातमुख जोर्ने अबस्था समेत नरहेको भन्दै मृत्तकका आफन्तले उचित क्षतिपूर्ती माग गरेका छन् ।
बिहीबार एक टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाको पिडक पक्ष उपस्थित भएर सहमती नगरेसम्म उनको शव नबुझ्ने अडान लिएको छ । ‘उहाँहरु आउनु भएको थियो, दुई वटा विकल्पमा छलफल भयो’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने ‘दाहा सँस्कार गरेर छलफल गर्न उहाँ सहमत हुनुभएन, शुक्रबार सम्म कुर्छौ भन्नुभएको छ ।’ स्थानीयको ध्यानाकर्षणलाई आफूले गम्भीर रुपमा लिएको भन्दै प्रजिअ भट्टराईले पिडितलाई न्याय दिलाउन र पिडकलाई कानून अनुसार कारवाही गर्न प्रशासन तयार रहेको बताए ।
‘तपाइँहरुले कानून अनुसार पाउने रकम दिलाउन हामी कुनै कसर बाँकी राख्दैनौं’ उनले भने ‘अरु कुरा दुई पक्षको सहमतीमा भर पर्छ ।’ प्रजिअ अधिकारीले पिडक पक्षका भाईलाई टेलिफोनमा कुरा गरेका छन् । उनले किरिया खर्च बापतको रकम बिमा सम्बन्धी विवरण लिएर शुक्रबार जिल्ला प्रशासनमा उपस्थित हुने बारे प्रजिअ अधिकारीलाई प्रतिवद्धता व्यक्त गरेका छन् ।
उता पिडित पक्षले भने विहान १० बजे सम्म उनीहरु उपस्थित भएर सहमती नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘आर्थिक अवस्था कमजोर छ, शव उठाउन सक्ने अबस्था पनि छैन, उहाँहरुले व्यवहारिकता हेरेर काम गरिदिनु परयो नी’ मृत्तककी आफन्त श्रेष्ठले भनिन् । मिस्त्री काम गरेर घर व्यवहार चलाउदै आएका श्रेष्ठको मृत्यु परिवारमा बज्रपात भएको भन्दै बिमा रकम माथी केही क्षतिपूर्ती पाउनुपर्ने पिडितको माग छ ।
बिमा मार्फत ५ लाख पाउने प्रावधान भए पनि चालकको लार्पवाहीका कारण निर्दोष व्यक्तिको घटनामा मृत्यु भएकाले थप क्षतिपूर्ती पाउनुपर्ने उनीहरुको माग छ । बुधबार साँझ नयाँ साँखु बाट १२ किलो तर्फ आउँदै गरेको बा ४ ख ९५०६ नम्बरको टूकले छेवेटारमा ठक्कर दिदाँ पैदल यात्री श्रेष्ठको घटना स्थलमै ज्यान गएको हो । मृक्तक श्रेष्ठको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।


