वैशाख २६, २०७५ कोरिखा (तनहुँ) — गाउँलेको आम्दानीको मुख्य स्रोत सुन्तला थियो । वर्षमा ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म सुन्तलाबाटै आम्दानी हुन्थ्यो । स्थानीयलाई छोराछोरी पढाउन र घरखर्ची चलाउन सहज भएको थियो । पछिल्लो समय सुन्तलाका बोट मर्न थालेपछि आम्दानीको स्रोत नै गुम्यो ।
पानीदेखि विभिन्न खानेकुरा साथमै ल्याउँथे । पर्यटक आउने सम्भावना देखेर स्थानीयले सुन्तलाको विकल्प होमस्टेलाई रोजेका हुन् । बन्दीपुर गाउँपालिका ५ मा पर्छ कोरिखा गाउँ। यहाँ गुरुङ समुदायका २६ घर छन् । स्थानीय देउराली आमा समूह र सूर्योदय युवा क्लबको अग्रसरतामा डेढ वर्षदेखि होमस्टे सञ्चालन सुरु भएको हो । यतिबेला विभिन्न विश्वविद्यालय तथा कलेजका विद्यार्थी अध्ययन अनुसन्धानका लागि गएर लामै समय बस्ने गरेका छन् । केही आन्तरिक र बाह्य पर्यटक पनि आउन थालेका छन् । ‘अब सुन्तला बेच्ने होइन, किनेर खानुपर्ने अवस्था आयो’, स्थानीय युवा लीलबहादुर गुरुङले भने, ‘यसको विकल्प खोज्न थालेका छौं ।’ सुन्तलाको विकल्प गाउँमा होमस्टे सञ्चालन गरी स्वदेशी र विदेशी पर्यटक भित्र्याउने योजनाअनुसार पूर्वाधारलगायत तयारी सुरु भइसकेको उनले बताए ।
सुन्तलाबाट राम्रै गुजारा चलिरहेका बेला एक्कासी बोट मर्न थालेपछि स्थानीय चिन्तित छन् । गाउँ उजाडिन थालेको अनुभव स्थानीयले गर्न थालेका छन् । सुन्तला मासिएपछि केही स्थानीय बसाइँ सर्न थाले । बसाइँसराइ नरोकिए गाउँ रित्तिने हो कि भन्ने लाग्यो । स्थानीयले जुक्ति निकाले होमस्टे सञ्चालन गर्ने र बन्दीपुर आएका पर्यटकलाई यहाँ पनि कम्तीमा एक दिन राख्ने । त्यसो त बन्दीपुर पुग्ने कतिपय पर्यटक गाउँ डुल्ने क्रममा यहाँ आइराख्थे ।
‘यसले हामीलाई उत्साहित बनाएको छ । होमस्टेबाट गुजारा चलाउन सकिन्छ भन्ने लागेको छ,’ आमा समूहकी अध्यक्ष चिनिमाया गुरुङले भनिन्, ‘सबैभन्दा ठूलो कुरा होमस्टेका माध्ययमबाट बसाइँसराइ रोक्न सकिन्छ कि भन्ने हो ।’ ३२ घर रहेको गाउँमा ६ घर बसाइँ सरिसकेका छन् । क्लबका पूर्वअध्यक्षसमेत रहेका लीलबहादुरका अनुसार सबै घरले औसतमा वार्षिक ५० हजार रुपैयाँ सुन्तलाबाट कमाउँथे । तर केही वर्षयता सुन्तलामा सिट्रस ग्रिनिङ रोग लागेर सखाप भएपछि आम्दानी शून्यमा झरेको छ । शान्त वातावरण, हरियाली, स्थानीय रूपमा उत्पादित अर्गानिक खाना, राजमार्गबाट नजिक, हिमश्रृंखलाको दृश्यावलोकनजस्ता कारणले होमस्टेलाई जीविकोपार्जनको माध्ययम बनाउन लागिएको उनको भनाइ छ । साथै यहाँ चूडा नृत्यलगायत संस्कृति पनि छ । ‘बन्दीपुरमा होटल बढे । गाउँमा रमाउन आउने पर्यटक होमस्टेमा बस्न रुचाउने भएकाले थालनी गरेका हांै,’ उनले भने, ‘वास्तविक (ट्रिपिकल) रूपको होमस्टेको आभास दिने प्रयासमा छौं ।’
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) चार नम्बर प्रदेशका अध्यक्ष रवीन्द्र पौडेलले होमस्टेको उजागर, प्रवद्र्धन र बजारीकरणमा संस्थाले सहयोग गर्ने बताए । कोरिखामा थप केही पूर्वाधार बनाउन आवश्यक रहेको भन्दै उनले आवश्यक समन्वय गरी अघि बढ्ने उनको भनाइ छ । साथै स्थानीय तहसँग समन्वय गरी होमस्टेको न्यूनतम मापदण्ड पूरा गर्न र गाउँ आउने पाहुनालाई आतिथ्यतामा कमी हुन नदिन उनले सुझाए । मञ्चका प्रमुख सल्लाहकार प्राडा प्रेम शर्माले होमस्टे स्थानीयलाई गाउँमै रोकेर रोजगार र कमाउन सकिने माध्ययम भएको बताए । ‘स्थानीयमा केही गर्ने जोस र जाँगर छ । यसले गाउँको परम्परा र सम्पदालाई पनि जोगाउने काम गर्छ,’ उनले भने, ‘स्थानीय तहलगायत सरोकारवाला निकायले होमस्टेको प्रवद्र्धन र विकासमा सहयोग गर्न जरुरी छ ।’कोरिखा पुग्न पृथ्वी राजमार्गको विमलनगर नजिकैबाट करिब दुई घण्टा पैदल र बन्दीपुरबाट एक घण्टा पैदल र गाडीमा २० मिनेटमै पुग्न सकिन्छ ।
kantipurdaily



