नरेन्द्र ढकाल/गोरखा
बैशाख २६ गते । लाप्राकका भूकम्प पिडितले पुरानै गाउँमा धमाधम घर बनाएका छन् । गैर आवासिय नेपाली संघ एनआरएनएले लाप्राक कै गुप्सीपाखामा एकिकृत बस्ती निर्माण गरिरहे पनि स्थानीयले भने पुरानै थलोमा छुट्टै घर बनाएका हुन् । ‘माथिको घर कहिले बन्छ कहिले, अहिले बस्नका लागि भए पनि घर बनाउनु प¥यो नी’ स्थानीय सुक बहादुर गुरुङले भने । एनआरएनएले आगामी असोज सम्म घर हस्तान्तरणको तयारी गरेपनि उनीहरुले भने पुरानै थातथलोमा घर बनाएका हुन् । गुप्सी पाखामा बन्ने घर सानो हुने भन्दै परिवारका सबै सदस्य नअट्ने भएकाले पनि अर्को घर बनाउनु परेको उनीहरुको भनाई छ ।
अधिकाशं लाप्राकीहरुको खेतिपाती र जनजिविकाका माध्यम लाप्राकको पुरानै गाउँ मानै भएकाले पनि त्यहाँ काम गर्न, अन्नपात भण्डार गर्न अर्को घर आवश्यक हुने भन्दै उनीहरुले आफै घर बनाएका हुन् । ‘माथि बन्ने घर सानो छ, परिवारका सबै सदस्य अटाउन पनि सक्दैन, फेरी दिन भर काम गर्न यहीँ आउनुपर्छ’ अर्का स्थानीय पुर्ण बहादुर गुरुङले भने ।
गुप्सीपाखाको घरमा पशु चौपाया केही पाल्ने ठाउँ नभएका कारण पुरानै गाउँमा घर आवश्यक रहेको उनीहरुको भनाई छ । त्यहाँका अधिकाशं स्थानीयले पुरानो ठाउँमा नयाँ घर बनाएका छन भने आर्थिक रुपमा कमजोर विपन्न वर्गका मानिसहरुले पुरानै घरलाई मर्मत गरेर बसेका छन् । ‘सक्नेले पिलर हालेरै बनाएका छन् नसक्नेले पुरानो सच्याएर भएपनि घर बनाउनु प¥यो नी’ स्थानीय धनमायाँ गुरुङले भनिन् । आलु खेति, गहुँ, सिमी जस्ता खेतिका लागि प्रख्यात लाप्राकको पुरानो गाउँ र आसपासको जमिन खेतियोग्य मानिन्छ ।
‘न अन्न पात राख्ने ठाउँ पुग्छ, दिनभर काम गर्ने खाने कुरा लगेर खाने सुत्ने भन्दा अरु काम छैन’ उनले भनिन् । अधिकांशं स्थानीयको भेडा, बाख्रा, गाई गोरु जस्ता जनावर पाल्नका लागि त्यहाँ छुट्टै व्यवस्था गरिएको छ । लाप्राकको मुख्य बाली आलु हो । जनजिविकाका सबै काम गर्नका लागि उनीहरु लाप्राककै पुरानो गाउँमा बस्नु पर्ने भएकाले पनि अधिकाशंले घर बनाएका हुन् ।
भूकम्प अघि नै पहिरोको जोखिम रहेको लाप्राकको पुरानो गाउँ अन्यत्र सार्नुपर्ने विज्ञहरुको सुझाव थियो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतविक्षत बनाएपछि त्यहाँका सबै स्थानीय साबिकको गाउँ भन्दा एक घण्टा माथि गुप्सी पाखामा अस्थायी टहरा बनाएर बसेका थिए । गुप्सीपाखामा चिसो हुने र बस्ती बिकासको काम पनि सुरु पछि उनीहरु पुरानै गाउँमा फर्केका हुन् ।
पुनःपुरानो गाउँमा फर्कन परेपछि सुरुमा अस्थायी प्रकृतिको घर बनाएको र अहिले त्यसैलाई नयाँ पन दिएको बताएका छन् । ‘यो त हामी आफैले बनाएको घर हो, इन्जिनियर पनि गाउँमा आएका छैनन्, हामीले जस्तो जान्यौ त्यस्तै बनाएका छौ’ सुक बहादुरले भने । स्थानीयले आफ्नै पहलमा घर बनाएकाले त्यहाँ भूकम्प प्रतिरोधी घर निमार्ण हुन सकेको छैन् ।
गुप्पीपाखामा भने एनआरएनएले एकिकृत नमूना बस्ती निर्माण गरिएको छ । उक्त बस्ती निर्माणका लागि हालसम्म ५ सय ७३ घरको घडेरी रेखाङ्कनको गरी खार्ने काम सम्पन्न भइसेको छ । ‘सबै घडेरी खार्ने काम सम्पन्न भइसेको छ, ४४० वटाको त डिपिसी लेभलको काम पनि सकिएको छ’ लक्ष्मण अर्यालले भने । ती मध्ये ४ सय ३८ घरमा एक चरणको गारो लगाउने काम गरिएको सकिएको छ । ६७ वटा घरको छाना समेत हालिएको छ भने २ वटा नमूना घर निर्माण सम्पन्न भएको उनको भनाई छ ।
स्थानीयले आफै घर बनाएपछि एनआरएनएले गुप्सीपाखामा बनाएको घर उनीहरुको दैनिक प्रयोजनका लागि उपयोग नहुने संकेत देखिएको छ ।


