मोहसिन अलि मियाँ/गोरखा
बैशाख २४ गते । गोरेटो नामक एनजिओले बोर्लाङका भूकम्पपिडितलाई बाड्न लगेको सामान वितरणमा लापरबाही देखिएको छ । भिमसेन गाँउपालिका वडा नम्बर ७ र ८ का भूकम्पपिडितलाई शौचालय बनाउन सहयोग गर्ने भन्दै लगेको करिब ३५ बोरा सिमेन्ट लामो समयसम्म पनि वितरण नहुदा बिग्रिएपछि नालीमा फालिएको अवस्थामा फेला परेको हो ।
करिब ३ महिना अघि साविकको बोर्लाङ गाविसको सिमलटार स्थित रोहन एण्ड रिदिमा किराना स्टोर्स अगाडीको जग्गामा भाडा तिर्ने सर्तमा गोरेटोले सिमेन्ट स्टोर गरेर राखेको थियो । तर लामो समय बितिसक्दा समेत वितरण नगरेपछि सिमेन्ट काम नलाग्ने भएर बिग्रिएको स्थानीयले बताएका छन् । ‘३ महिना भन्दा बढि भयो यहाँ सामान ल्याएर राखेको, न लिन आउछ, न बाँड्न आउछ, सिमेन्ट सबै डल्ला परेर कामै नलाग्ने भयो’ स्थानीय रञ्जित श्रेष्ठले समाधानलाई भने ।
क्रिश्चियन एड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा संचालन भएको भूकम्प पश्चात पुर्नस्थापना कार्यक्रम अन्तरगत गोरेटोले बोर्लाङका ३ सय ५३ घरधुरीलाई शौचालय निर्माणको सामाग्री सहयोग गरेको थियो । तर लामो समय सिमलटारको एक किराना पसल अगाडी खाली जग्गामा सिमेन्ट स्टोर गरेर हालसम्म पनि संस्थाका कोही सम्पर्कमा नआएपछि सिमेन्ट बेवारिसे बनेको हो ।
‘खै सामान राख्न चै आका थे, भाडाको कुरा पछि गरौला भनेका थिए, भाडा पनि पाको छैन, घामपानीले सिमेन्ट सबै काम नलाग्ने भयो, मैले त सबै बाहिर निकाल्दिए’ स्थानीय श्रेष्ठले भने । गोरेटो गोरखाले भुकम्प पछिको पुर्नस्थापना कार्यक्रम अन्तरगत बोर्लाङका भुकम्पपिडितलाई गोलापर्था मार्फत बाख्रा, पानी संकलन गर्ने ड्रम र शौचालय निर्माणका लागि सामाग्री सहयोग गर्ने भन्दै घरधुरी छनौट गरेको थियो ।
यता गोरेटो गोरखा भने सो सामाग्री आफ्नो नभएको दावी गर्छ । ‘हो हामीले बोर्लाङमा काम गरेको हो, सामान पनि वितरण गरेको हो, तर त्यो सिमेन्ट भने हाम्रो होइन’ समाधानसंगको कुराकानीमा कार्यक्रम संयोजक निरञ्जन खनाल भन्छन् ‘हाम्रो प्रोजेक्ट अन्तरगत वितरण गर्ने जति सबै सामान त हामीले बाँडीसक्यौ, हामीसंग सामान बुझेको भरपाई छ, कसरी त्यस्तो हुन गयो त्यो त हामीलाई जानकारी छैन’।
खनालका अनुसार क्रिश्चियन एडसंगको सम्झौता अवधी सकिएकाले संस्थाले स्थानीय तहलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिसकेको बताएको छ । ‘हाम्रो प्रोजेक्ट सक्किसक्यो, हामीले त सबै वडालाई जिम्मेवारी दिएर छोडेका हौ, हामीले भाडा दिन्छौ पनि भनेका छैनौ’ कार्यक्रम संयोजक खनालले भने ।
परियोजनाबाट गोरेटोले १ सय ९९ घरधुरीलाई बाख्रा पालन, २ सय ५० लाई ड्रम समेत वितरण गरेको थियो । तर कार्यक्रमको अवधी सकिए पनि गोरेटोले वितरण गर्ने भनेको सम्पूर्ण सामाग्रीहरु अझैसम्म पनि पाउन नसकेको केही स्थानीयले गुनासो गरेका छन् ।




















