मोहसिन अलि मियाँ/ गोरखा
बैशाख २४ गते । अन्ततः गोरखा नगरपालिकाले सडक क्षेत्रको फुटपाथ अतिक्रमण गरी बनाइएका टहरा र उक्त क्षेत्रमा राखिएका होडिङ हटाएको छ । केही समयअघि नगरप्रमुख राजनराज पन्त स्वयम् उपस्थित भएर सुरु भएको अभियानले सार्थकता नपाएको गुनासो बढिरहेका बेला नगरपालिकाले आइतबारबाट ती घर टहरा र होडिङ बोर्ड हटाउन सुरु गरेको हो । ‘हामीले केही समय अघिबाटै अब्यवस्थित होडिङ बोर्ड र टहराहरु हटाउने अभियान सुरु गरेका हौ, बिचमा उनिहरु आफैले हटाउछन भनेर मौकाको रुपमा समय दियौ, केहीले हटाए पनि नहटाउनेको हामीले हटाउन सुरु गरेका छौ’ नगरप्रमुख पन्तले भने ।
आइतबार सदरमुकामको बिसौनी मोडबाट अबुवासम्मको मुख्य सडक आसपासका होडिङ बोर्ड र फुटपाथ छोपेर बनाइएका टहराहरु भत्काइएको हो ।

अब्यवस्थित ढंगबाट राखिएका होडिङ बोर्डहरुले बजार क्षेत्रलाई कुरुप र अस्तब्यस्त बनाएको भन्दै नगरपालिकाले यस्ता बोर्ड हटाउने कार्यलाई तिब्रता दिएको बताएको छ । ‘जस्ले जहाँ पायो त्याही जस्तो पायो त्यस्तो बोर्डहरु राखेर बजारको सौन्दर्य बिग्रेको छ, त्यस्ता सबै बोर्डहरु हामीले हटाइसकेका छौ, अबका दिनमा हाम्रो अनुमतीबिना नगरभित्र कहि कतै कसैले पनि होडिङ बोर्ड राख्न पाउदैन’ नगरप्रमुख पन्तले भने ।
नगरपालिकाले आइतबार स्विकृती बिना र मापदण्ड बिपरित राखिएका ६८ वटा होडिङ बोर्डहरु हटाएको बताएको छ । नगरपालिकाको कार्यालयसंग स्विकृती नलिई बिभिन्न कम्पनी तथा फर्म र संघसंस्थाहरुले बिभिन्न प्रयोजनका लागि राखिएका बोर्डहरु मात्रै हटाइएको नगरप्रमख पन्तको भनाई छ । ‘ज–जस्ले नगरपालिकाको स्विकृति बिना बोर्ड राखेको छ, ति सबै हामी हटाउछौ, धेरै त आजै (आइतबार) नै हटाइसक्यौ, अरु अब एक दुइ दिनमा सक्छौ’

आइतबारबाट सुरु भएको सो कार्य सदरमुकामदेखि आँबुखैरेनी पुलसम्म गरि करिब दुई सय होडिङ बोर्डहरु हटाउने नगरपालिकाको तयारी छ । कार्यालयको कर्मचारीको रोहबरमा डोजर लगाएर नै त्यस्ता अब्यवस्थित बोर्ड तथा अब्यवस्थित टहरा भत्काएर फोहोर फाल्ने ठाँउमा डम्पिङ गरिएको कार्यालयको भनाई छ । नगरपालिकाको स्विकृती बिना राखिएका जुनसुकै बोर्ड तथा नियमबिपरित बनेका टहरा भत्काउने कार्य नगरपालिकाले अभियान कै रुपमा अघि बढाएको बताएको छ ।
पहिलो चरणमा गोरखा–आँबुखैरेनी सडक आसपास र दोस्रो चरणमा भित्रि बजार तथा सडकमा राखिएका होडिङ बोर्ड तथा अब्यवस्थित टहरा भत्काइने योजना रहेको नगरप्रमुख पन्तले बताउछन् ।

गोरखा नेपालकै ऐतिहासिक नगर भएपनि अव्यवस्थित भएको भनी बारम्बार आलोचना भइरहन्छ । शाहकालिन इतिहासको उद्गम स्थल गोरखा धार्मिक सास्कृति र पर्यटकिय हिसाब निकै प्रख्यात छ । वर्षेनी लाखौं पर्यटकले गोरखा भ्रमण गर्ने गरेको भएपनि जिल्ला सरमुकाम नै व्यवस्थित हुन नसकेको गुनासो आइरहन्छ । सोही अनुरुप स्थानीय सरकार बनेपछि नगर व्यवस्थित बनाउन भन्दै गोरखा नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिहेको छ ।


