रामशरण आचार्य
नेपालको इतिहास अहिलेभन्दा १८ सय वर्षअघि शुरु भएको अभिलेख पाइन्छ । त्यसबेला लिच्छविहरुले नेपालमा शासन गरेकाले सो काल लिच्छविकाल कहिन्छ । लिच्छविकालका २०० भन्दा बढी अभिलेख पाइएका छन् । ती अभिलेख, तात्कालिक भारतीय अभिलेख, चिनियाँ यात्रीहरुको वर्णन आदिबाट त्यस बेलाको नेपाल झण्डैझण्डै अहिलेको जत्रो थियो भन्न सकिन्छ । गोरखाको गोरखनाथ गुफामा रहेको लिच्छविराजा शिवदेव(द्धिनीय) को वि.सं.७५५÷७५६ को शिलालेख र गोरखा हनुमानभन्ञ्याङ्मा रहेको शिवदेव (द्धितीय) का छोरा राजा जयदेव (द्धितीय) को शिलालेख पनि यो प्रमाणमा पर्दछन् । तात्कालिक गोरखाप्रदेश सामाजिक, धार्मिक एवं साँस्कृतिक आदि दृष्टिबाट समुन्नत रहेछ भन्ने कुराको ज्ञान नेपालको पहिलो प्रमाणिक कालमै गोरखाको महत्वपूर्ण उपस्थिति देखिन आएबाट पुष्टि मिल्दछ । 
लिच्छविकालपछि नेपालको वैभवमा क्रमशः ह्रास आयो र राज्य टुक्रन थाल्यो । विक्रमको १२ औं शताब्दीतिर पहिलेको नेपालले चर्चेको भूभागमा तीनवटा राज्य देखिन आए । एउटा आफ्नो क्षेत्र क्रमशः खुम्चिदै गएको नेपालको केन्द्रको राज्य “काठमाण्डौं उपत्यका” अर्काे नान्यदेवले नेपालको दक्षिणपूर्व भेकमा स्थापना गरेको सिमरौनगढ राज्य र तेस्रो नेपालको पश्चिमोत्तर भेकमा नागराजले स्थापना गरेको सिंजाराज्य । टुक्रँदै गएको नेपालको केन्द्रअन्तर्गत विक्रमको १२ औं शताब्दीको शुरुमा रहेको गोरखाप्रदेश, सिंजाराज्यले क्रमशः पूर्वतिर बढ्ने अभियान शुरु गरेपछि सिंजाराज्यअन्तर्गत पर्न आयाृे । सिंजाराज्य पनि क्रमशः विखण्डनमा पुगेपछि कुनै बेला डोटीराज्यअन्तर्गत गोरखाप्रदेश रह्यो भने कुनै बेला केन्द्रको यक्ष मल्लको राज्यअन्तर्गत यो रह्यो । राजा मुकुन्दसेनको विजय अभियान अन्तर्गत पाल्पाको प्रभाव क्षेत्र अन्तर्गत रहेको यो प्रदेश मुकुन्द सेनको प्रभाव घट्दै गएपछि स्थानीय घले, खड्काहरुबाट शासित हुन थाल्यो । द्रव्यशाहले वि.सं. १६१६ मा गोरखामा अधिकार जमाएपछि भने स्वतन्त्र राज्यको रुपमा यो प्रदेश रहन थाल्यो ।
रागिनासमा बसिरहेका लमजुङ्े राजकुमार द्रव्य शाहलाई लिग्लिग विजय गराउँदै गोरखासम्म ल्याइ–पु¥याउनको लागि नारायणदास अज्र्याल, गणेश पाण्डे, भगीरथ पन्त, सर्वेश्वर खनाल, गङ्गाराम राना र केशव बोहराले ठूलो परिश्रम गरेका थिए भने उनीहरुलाई गजानन्द भट्टराई र मुरली खवासले सहयता गरेका थिए ।
वि.सं. १६१६ मा द्रव्य शाहद्धारा गोरखा राज्यको स्थापना भएदेखि नै गोरखालीहरुले आफ्नो राज्यको क्षेत्रफल बढाउँदै जाने नीति लिएको देखिन्छ । पूर्णशाह र रामशाहले बढाएको गोरखाराज्यलाई थाम्न छत्र शाह, डम्बर शाह, रुद्र शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले बिशेष परिश्रम गर्नुपरेको थियो । यस्तैमा वि.सं.१७७९ मा जन्मेका पृथ्वीनारायण शाह बाबु नरभूपाल शाहको निधनपछि वि.सं. १७९९ मा गोरखाको राजा भए । उनी राजा भए लगत्तै आफ्ना बाबुबाजेले थालेको पूर्वतिर राज्यसिमा बढाउने अभियानलाई निरन्तरता दिए । पृथ्वीनारायणले दूरदृष्टि लिएर योजनाबद्ध रुपमा गोरखाराज्यको सिमा बढाउने क्रममा नुवाकोट, मकवानपुर, किर्तिपुर, काठमाण्डौ, पाटन, भक्तपुरमा अधिकार जमाउन सफल भए । आफूले विजयी प्राप्ति गरेको काठमाण्डौ उपत्यकालाई राजधानी बनाए भने राज्यको नाम नेपाल राखे । तात्कालिक बाइसे चौबिसे राज्यमा विखण्डित नेपाल राज्यलाई एकिकरण गरेर आधुनिक नेपाल अधिराज्यको स्थापना गर्न सफल भए गोरखा राज्यका अन्तिम राजा पृथ्वीनारायण शाह । र, पछि पूर्वतिरको चौदण्डी र विजयपुर राज्य पनि गोरखा राज्यमा विलय गराई गोरखाको मात्र नभई नेपालकै नाम विश्वमानचित्रमा प्रतिष्ठित हुन पुग्यो ।
विखण्डित भारतलाई अठारौं शताव्दीमा अँग्रेजी साम्राज्यवादद्धारा जित्दै आफ्नो प्रभुत्वमा लिंदै गर्ने क्रममा नै प्रकारान्तरले वर्तमान भारतको जग हालियो । यसरी साम्राज्यवादी सोंचले भारतलाई विभाजित मात्र होइन एकीकृत पनि तुल्याएको देखिन्छ । यताबाट साम्राज्यवादले मुलुकलाई खाइदिने मात्र होइन जोडिदिने पनि रहेछ भन्ने दृृष्टान्त हाम्रो आफ्नै छिमेकीको इतिहासले पनि देखाएको छ । तर प्रश्न छ यो– के गोरखाले भारतमा अँग्रेजकै जस्तो आफ्नो साम्राज्य लादेको हो ? कदापी होइन ।
किनकी तत्कालिन समयको गोरखा कुनै औद्योगिक, पूँजीवादी अर्थतन्त्रले भरिपूर्ण राष्ट्र थिएन । नत कुनै अत्याधुनिक शस्त्रअस्त्रबाट भरिपूर्ण राष्ट्र ! “साम्राज्यवाद भनेको मरणासन्न पूजीवाद हो” – लेनिन । गोरखा राज्यको विस्तारलाई रोक्न अँग्रेजले सैनिक हस्तक्षेप ग¥यो तर सफल भएन ! यदि पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तार युद्ध र विजय अभियानको थालनी नहुँदो हो त सायदः यो देशमा ब्रिटिस प्रभुत्वलाई कसैले रोक्न सक्ने थिएन । फलतः यो देश भारतकै एउटा प्रान्त हुने थियो–इतिहास साक्षि छ ।
पृथ्वीनारायण शाहले विजयी अभियानकै क्रममा गोरखाको राजधानी काठमाण्डौ लगे भने राज्यको नाम गोरखा नराखी नेपाल नै राखे । नेपाललाई सबै जात र वर्णको साझा फुलबारीका रुपमा अघि बढाउन पृथ्वीनारायणले बेग्लै प्रदेशको राजा हुने आफ्ना भाइहरुको आकांक्षालाई पनि शक्तिद्धारा दमन गरे । राज्य, जनताप्रति पृथ्वीनारायण शाहको आदरभाव तथा देशभक्तिपूर्ण एवं प्रगतिशिल कदम, दृष्ट्रिकोण, सोंच, विचार र व्यवहार समेतबाट उनको विजय अभियान गोरखाको विस्तार वा साम्राज्यवादी चिन्तन नभई नेपाल राष्ट्रको एकीकरण नै थियो । र, उक्त अभियान तत्कालीन समयमा विश्व विजय गर्दै हिंडेको अँग्रेजी साम्राज्यको चपेटाबाट मूलुकलाई बचाउने ध्येयबाट प्रेरित थियो । बाइसी चौबिसी र काठमाण्डौं उपत्यकाका राजाहरुको दिनहुँको कलह र लडाईंको कारण देशवासीको जिउधनको रक्षा एवं चौपट भएको व्यापार तथा अर्थतन्त्रको रक्षार्थ बहुमत जनता र उद्योग व्यवसायीहरुले पनि पृथ्वीनारायण शाहको एकता अभियानमा तन, मन, धन र वचनले सहयोग गरेका थिए । जसको ज्वलन्त उदाहरण १२ हजार गोरखाली घरधुरी मध्येका एक घरधुरीको दर्जी व्यवसायी बिशे नगर्जीले हतियार खरिद गर्न उनलाई दिएको रु. १÷– । चेतना भया !
१८ औं शताब्दीको पूर्वाद्धमा निर्माण भएकोे आधुनिक नेपालले करिब अढाई सयवर्षको अबधिमा थुप्रै शासकिय तथा राजनीतिक परिवर्तन पायो ।ं यस्तैमा जनआन्दोलन २०६२÷०६३ को सफलतासँगै संविधान सभाबाट नयाँ संविधान जारी गरी राज्य पुर्नःसंरचनाको मार्गमा फड्को मार्दै संङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक बन्न सफल नेपाल राष्ट्र संघ, सात वटा प्रदेशराज्य तथा स्थानीय तह (गाउँ÷नगर)हरुको शासन प्रणालीमा अघि बढेको छ ।
अहिले नेपाल राष्ट्रमा स्थानीय तह, प्रदेश, र संघको शासकीय स्वरुप तथा कार्यपालीका एवं व्यवस्थापिका निर्माण भई संङघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको प्रारम्भिक चरण शुभारम्भ भईसकेको अबस्था हो । सात वटा प्रदेशमा विभक्त नेपालको शासकीय प्रणालीलाई नेपाली जनताको समग्र हित, उनन्ती र राज्यको विकास तथा समृद्धिको मार्गमा अघि बढाउने कार्य जारी छ । फलस्वरुप, अहिले नेपालको राजनीतिक उपलब्धीको रक्षार्थ गठित प्रदेशको नामाकरण गर्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेशको नाम चयन गर्दा त्यस क्षेत्रको पहिचान दिन सक्ने र ऐतिहासिक तथा साँस्कृतिक हिसावले विश्वमानचित्रमा सुविख्यात विषय बस्तुसँग महत्व राख्ने हुनु नितान्त आवश्यक छ । यहाँनिर ४ नं. प्रदेशको नाम छनौट एवं चयन बारेमा विशेष इंगित गर्न उचित देखेर यो विषय उठान गरिएको मात्र हो ।
बास्तवमा ऐतिहासिक इलाका र साँस्कृतिक इलाकामा केहि अन्तर हुन्छ । ऐतिहासिक इलाका राजनैतिक परिवर्तनको साथ परिवर्तित हुन्छन् भने साँस्कृतिक इलाका त्यस किसिमले परिवर्तन नहुन पनि सक्छ । तर सदियौं कालसम्म महत्व राखिराख्ने एक अविस्मरणिय परिवर्तनलाई बीच बीचमा हुने परिवर्तनले दिग्दर्शन गराउन कठिन पर्ने हुनाले साँस्कृतिक इलाकालाई भन्दा ऐतिहासिक इलाकालाई बढी महत्व दिनुपर्ने हुन्छ ।
त्यसैले “गोरखा” शब्द नेपालभित्र मात्र नभएर विश्वको कुना कन्दरामा सुविख्यात नाम हो । गोरखा शब्द विश्वको इतिहासमा स्वर्णिम अक्षरले अंकित छ । आधुनिक नेपाल निर्माण गर्ने गोरखाराज्य तात्कालीक अबस्थामा पनि नेपालको पश्चिम क्षेत्रमा गोरखा प्रदेशको नामबाट सुपरिचित थियो । एशियाको मात्र नभई विश्वमै उदियमान बन्दै गएको छिमेकी मुलुक भारतमा समेत “गोरखाल्याण्ड” नामको छुट्टै राज्य माग गरिरहेको अबस्था हो । भारत बेलायत, हङकङ लगायत युरापियन देशहरु तथा संयुक्त राष्ट्र संघ समेतमा गोरखा सैनिकको अतुलनीय भूमिका र योगदान रहेको छ । प्रथम भि.सी. वीर गजे घलेको पवित्र जन्मभूमि गोरखाले प्रथम र दोस्रो विश्वयुद्धमा समेत ख्याती कमाएको इतिहास साक्षि छ । पछिल्लो समय “गोरखा महाभूकम्प २०७२” ले पनि यस नामलाई विश्वमानचित्रमा थप परिचित गराएको कुरा सर्वविदितै छ । विश्वको आठौं अग्लो शिखर मनासलु हिमाल रहेको गोरखा जिल्ला र सो हिमालको पहिलो आरोहण गर्ने जापनिज नागरिक भएबाट गोरखाप्रति जापानले हेर्ने दृष्टिकोण पनि सकारात्मक एवं सहयोगिमूलक पाइन्छ । विश्वका सहयोगी हातहरुलाई यस प्रदेशको आर्थिक लगायत समृद्धिको पक्षमा आकर्षण गर्न गराउन गोरखा शब्दले थप आकर्षण गर्न सक्ने विषयमा कोहि कसैको दुईमत नरहला ! विश्वको कुना काप्चामा समेत नेपाली जनताले स्वतन्त्र नागरिकको हैसियतले गौरव गर्न पाउने “गोरखा” शब्दद्धारा नामाकरण गरिएको खण्डमा यस प्रदेशको ऐतिहासिक एवं साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको पहिचानमा समेत अन्तराष्ट्रिय ओज र महत्व बढ्ने भएकोले ४ नं. प्रदेशको नाम “गोरखा” राख्नु पर्ने देखिन्छ । यसतर्फ सम्बन्धीत सबैको ध्यान पुग्न समेत नितान्त आवश्यक छ ।
४ नं. प्रदेशको नाम किन राख्ने “गोरखा”
४ नं. प्रदेशको नाम किन राख्ने “गोरखा”
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















