गोरखा । गृहमन्त्री सुदन गुरुङको बैंक विवरण केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखले मिडियामा दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भ्रामक भिडिओ बनाएको अभियोगमा गोरखाका मीनकुमार गुरुङ मुद्दा दर्ता भएको छ ।
जिल्लाको बारपाक सुलिकोट–४, घर भएका ३३ वर्षीय गुरुङ बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर गरिएको अभियोग पत्रमा गुरुङमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ ।
हाल राेजगारीकाे क्रमा विदेशमा रहेका गुरुङलाई फरार सूचीमा राखिएको छ । सीआईबीको पत्रको आधारमा साइबर ब्युरोले यस सम्बन्धमा प्राविधिक अनुसन्धान थालेको थियो ।
गुरुङले आफ्नो फेसबुक प्रोफाइलबाट विभिन्न भ्रामक समग्रीहरू पोस्ट र प्रसारण गरेको फेला परेको छ । आरोपी गुरुङले आफ्नो फेसबुक अकाउन्ट तथा विभिन्न रिलहरूको लिंकमार्फत गृहमन्त्री र प्रहरी प्रशासनलाई जोडेर अफवाह फैलाएको अभियोग पत्रमा उल्लेख छ ।
विशेषगरी उनले आफ्नो फेसबुक टाइमलाइनमा एउटा फोटो लिंक पोस्ट गर्दै र भिडिओ सार्वजनिक गरेका थिए । अनुसन्धानकै क्रममा राहदानी विभाग त्रिपुरेश्वर, भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल, नेपाल राष्ट्र बैंक र अध्यागमन विभाग कालिकास्थानसँग पनि आरोपीको विवरण माग गरी पत्राचार गरिएको थियो ।
सरकारी वकिल कार्यालयले अभियुक्त गुरुङलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा सजाय गर्न माग गरेको छ ।




















