गोरखा समाचारदाता
सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकका ५९ जना जेष्ठ नागरिकले परिचय पत्र पाएका छन् । महिला तथा बालबालिका सेवा केन्द्र सिरानचोक शाखाको आयोजनामा भएको एक कार्यक्रमका विच ६० वर्ष उमेर पुगको वृद्धवृद्धालाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरिएको हो । ‘हामीले यो अभियानलाई तिब्रता दिएका छौ, उहाँहरुले पाउने सहुलियतका लागि मद्दत पुगोस भनेर जनचेतना जगाउनु नै हाम्रो उदेश्य हो’ महिला तथा बालबालिका कार्यालय सिरानचोककी शाखा प्रमुख शारदा ढकालले भनिन् ।
गाउँपालिका अध्यक्ष राजु गुरुङले भक्त बहादुर कोइराला र उपाध्यक्ष रीता देवकोटाले चोलामायाँ देवकोटालाई जेष्ठ नागरिक परिचय पत्र उपलब्ध गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । वडा नम्बर ४ का अध्यक्ष दिपक हमालको अध्यक्षता तथा गाउँपालिका प्रमुख गुरुङको प्रमुख आतिथ्ययतमा भएको कार्यक्रममा महिला तथा बालबालिका शाखा कार्यालयकी शारदा ढकालले जेष्ठ नागरिक परिचय पत्रको महत्व र वितरण गर्नुको उदेश्य बारे सहभागीलाई जानकारी गराएकी थिइन् ।
कार्यक्रममा उपाध्यक्ष रीता देवकोटा, वडा अध्यक्ष हमाल लगायतले मन्तव्य राखेका थिए । केही दिन अघि सोही गाउँपालिकाको वडा नम्बर ३ का जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको थियो भने शुक्रबार वडा नम्बर ५ छोप्राकमा वितरण गर्ने कार्यक्रम छ । सोही अबसरमा वडा ४ मा क्रियाशिल विभिन्न उपभोक्ता समितिका पदाधिकारी र अन्य सदस्यहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम समेत गरिएको सिरानचोक गाउँपालिकाले जानकारी दिएको छ ।




















