मोहसिन अलि मियाँ/गोरखा
चैत्र १२ गते । गोरखा दराबर जगैदेखि भत्काएपछि पूजा गर्न आएका भक्तजनलाई असुबिधा भएको छ । २०७२ सालको भुकम्पले ध्वस्त भएपछि दरवार पुनःनिर्माणका लागि भन्दै दरवार भत्काइएपछि भक्तजनलाई पुजाआजा गर्न असुविधा भएको हो ।
चैते दशै तथा राम नवमी पर्व एकै दिन परेकाले आइतबार गोरखा दरबारमा भक्तजनको भिड लागेको थियो । गोरखकाली मन्दिरको पुननिर्माण भैरहेकाले एकातर्फिबाट मात्र भक्तजन आवातजावात गर्नुपर्ने भएकाले भिड बढे संगै भक्तजनहरुलाई दर्शन गर्न समेत समस्या भएको हो । मुल दरबार भत्काइएकाले उत्तरतर्फको बाटो समेत बन्द गरिएको छ । दरबार पुनःनिर्माणको काम सुरु भएकाले भित्र पस्ने र बाहिर निस्किने एउटै बाटो भएकाले भक्तजनले निक्कै सास्ती भोग्ुपरेको बताएका छन् ।
‘पुजा गर्न आउने नि त्यै ढोका अनि बाहिर निस्किने त्यै ढोका, त्यसमाथी दुवै तिर लाइन, साह्रै समस्या भयो ।’ मन्दिर दर्शन गर्न आएका रामप्रसाद अधिकारीले भने । बिशेष महत्व बोकेको चैते दशै र रामनवमीमा देशकै प्रमुख मानिने गोरखकाली मन्दिरमा पुजा आजा गर्न भक्तजनको निक्कै भिड लागेको थियो । जिल्ला लगायत अन्य जिल्लाहरुबाट समेत बलि चढाउन र पुजा गर्न गोरखकाली मन्दिर आइपुगेका थिए । तर मन्दिर पुनःनिर्माण भइरहेकाले बलि चढाउन भक्तजनले ल्याएका बिभिन्न पशुहरुलाई जोगाउनै हम्मेहम्मे परेको उनिहरुको गुनासो छ । ‘भिडभाड धेरै अनि बाटो एउटै भएर बलि दिन ल्याएको बोका नि जोगाउन मुस्किल भयो, बल्ल बल्ल भिड पार गरेर पुजा गरेर आइयो’ तनहुँका अर्जुन पौडेलले भने ।
दरबार भत्काइएकाले निर्माण सामाग्री झर्ने डर पनि उत्तिकै थियो । दरबारको भित्तामा सुचना नै टाँसेर साबधान रहन भक्तजनलाई आग्रह गरिएको थियो । अघिल्लो बर्षहरुमा झै आनन्दले पुजा समेत गर्न नपाइएको पौडेलको भनाई छ । ‘एक त भित्र पस्नै गाह्रो, भित्र पसेपछि छानाबाट इट्टा झरेर लाग्छ कि भन्ने डर अनि पुजा ग¥यो बाहिर निस्किनै गाह्रो’
देशकै प्रमुख शक्तिपिठ मानिने गोरखकाली मन्दिर करिब ५ सय पशुको बलि चढाइएको बताइएको छ । त्यस्तै आइतबार करिब ५ हजार भक्तजनले गोरखकाली मन्दिरको दर्शन गरेका छन् । त्यस्तै चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी मनाइँएको छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । चैत शुक्ल अष्टमी अर्थात चैते दशैँ पनि आजै परेकाले शक्तिस्वरुपा दुर्गा भवानीको पुजाआजा गरी मनाइएको छ । चैते दशैँमा घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । दानवी शक्तिमाथी दैवी शक्तिको विजयका रुपमा शक्तिस्वरुपा दुर्गा भवानीको पुजा गरी मनाइन्छ ।
तस्बिर कैलासबावु श्रेष्ठ


