अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जङ अनसँग भेट्न सहमत भएको बताइएको छ।
यो हप्ता अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेको दक्षिण कोरियाली समूहका नेताले किमले थप पारमाणविक र क्षेप्यास्त्र परीक्षण नगर्ने प्रस्ताव गरेको बताएका छन्।
दक्षिण कोरियाली दूत चुन यु योङले राष्ट्रपति ट्रम्पको सम्झौता नगर्ने प्रतिबद्धताले उत्तर कोरियामाथि दबाब बढाएको भन्दै प्रशंसा गरे।
केही समय अघिसम्म ती दुई नेताहरु सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका थिए।
उक्त अप्रत्याशित घोषणा उत्तर कोरियाली नेताको पत्र लिएर वाशिङटन पुगेका उच्च दक्षिण कोरियाली अधिकारीहरुले गरेका थिए।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाएका छन् र पारमावणिक नि:शस्त्रीकरणका लागि प्रतिबद्धता पनि जनाएका छन्।
पछिल्लो घटनाक्रम महिनौ यताका चेतावनी र हिंसापछिको एउटा महत्वपूर्ण प्रगति जस्तो देखिन्छ।
दक्षिण कोरियाली प्रतिनिधिमण्डलले अघिल्लो साता प्योङयाङमा उत्तर कोरियाली नेतासँग अभूतपूर्व प्रकृतिको वार्ता गरेको थियो।
राष्ट्रिय सुरक्षा सल्लाहाकार चुन यु योङले ह्वाइट हाउस बाहिर सम्वादाताहरूसँग कुरा गर्दै दुई नेताले आगामी मे महिनामा वार्ता गर्ने अपेक्षा गरेको बताए।
उनले उत्तर कोरियाली नेताले आफूहरुसँगको भेटमा पारमाणविक निश:स्त्रीकरण प्रति प्रतिबद्धता जनाएको आफूले राष्ट्रपति ट्रम्पलाई जानकारी दिएको बताए।
उक्त ‘विफ्रिङ’को प्रशंसा गर्दै ट्रम्पले स्थायी रुपमा उत्तर कोरियालाई परमाणू अस्त्रबाट निश:स्त्र बनाउने उद्देश्य लिएर आफूले मे महिनामा किम जङ अनलाई भेट्ने बताएको योङले जानकारी दिए।
दुवै कोरियाले संयुक्त रूपमा हिउँदे ओलिम्पिक्समा सहभागिता जनाएपछि दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको छ।
तर आलोचकहरूले उत्तर कोरियाको प्रतिबद्धतालाई शंकाको घेरामा राख्ने गरेका छन।
BBC




















