- बाजुरा सदरमुकाम मार्तडीसम्मको २८ किलोमिटर खण्डमा धमाधम कालोपत्रे
बाजुरा — सदरमुकाम मार्तडीसम्म बाह्रै महिना गाडी चढ्ने बाजुरेलीको सपना छिट्टै पूरा हुँदैछ । २८ किलोमिटर सडक खण्डमा धमाधम कालोपत्रे भइरहेको छ । सदरमुकाम मार्तडी कच्ची सडकमार्फत दुई वर्षअघि राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । कालोपत्रेको कामसमेत अबको एक महिनाभित्र पूरा हुनेछ ।
यसअघि हिउँदका ६ महिनामात्रै गाडी गुड्थे । सदरमुकामसम्म अब बाह्रै महिना यातायातका साधन सञ्चालन हुने भएपछि स्थानीय उत्साहित छन् । गुईगाड र बूढीगंगाबाहेकका अन्य खोलामा पक्की पुलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
बार्जुगाढदेखि मार्तडीसम्म करिब २८ किलोमिटर लम्बाइको यो सडक खण्डको राप्कसम्म वर्षातअघि नै कालोपत्रेको काम सकिएको थियो । राप्क अगाडि मार्तडीसम्मको करिब ८ किलोमिटर खण्डमा कालोपत्रेका लागि संरचना निर्माण धमाधम भइरहेको छ । ‘करिब एक महिनाभित्र सबै काम पूरा हुन्छ,’ निर्माण कम्पनीका साइट इन्चार्ज प्रेम थापाले भने ।
मार्तडीसम्म डबल कटिङ टेवा पर्खाल निर्माण, सबबेस ग्राभेल ढलाइ, कल्भर्ट निर्माणलगायतका काम सम्पन्न भएका छन् । ‘चिसो घट्नेबित्तिकै कालोपत्रेको बाँकी काम हुन्छ,’ परामर्शदातृ कम्पनीका प्रमुख इन्जिनियर पुष्पराज भट्टले भने, ‘अहिलेको चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकाले बाँकी रहेको खण्डमा फागुन दोस्रो सातादेखि कालोपत्रे सुरु गर्छौं ।’
०७१ जेठ महिनामा ठेक्का सम्झौता भएको यो सडकको गएको असारभित्र सबै काम पूरा गर्नुपर्ने थियो । ठेक्का सम्झौता भएको सुरुका केही महिना दातृपक्ष रहेको भारतीय एक्जिम बैंकको उल्झन र त्यसपछि नाकाबन्दी र भूकम्पका कारण काम सुरु गर्न ढिलाइ भएको थियो । पीएस कन्स्ट्रक्सनले ६६ करोड ५३ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
७ मिटर चौडाइ रहेको यो खण्ड सिलगढी–साँफेबगर–बार्जुगाड जस्तो ओटासिल प्रविधिको नभई स्याउले–सिलगढी जस्तो उच्च गुणस्तरको सडक भएको इन्जिनियर भट्ट बताउँछन् । सडकको स्तरोन्नतिसँगै नयाँ र सुविधायुक्त यातायातका साधन सञ्चालनमा आउन थालेका छन् । मार्तडीदेखि काठमाडौंसम्म दिवा तथा रात्रिकालीन सीधा बस चल्न थालेको छ । ‘धनगढी, महेन्द्रनगर, काठमाडौं, नेपालगन्जलगायतका ठाउँमा नयाँ र सुविधायुक्त बसहरू सञ्चालनमा आएका छन्,’ मार्तडीका यातायात व्यवसायी चन्द्र रावलले भने, ‘समय पनि छोट्टिएको छ ।’ मार्तडीदेखि धनगढीसम्मको सडक दूरी ३ सय २२ किलोमिटर छ ।
सदरमुकाममा यातायात पुर्याउने उद्देश्यले साँफे–मार्तडी ५८ किमि खण्ड २२वर्षअघि शिलान्यास भएको थियो । दरमुकामसम्मको सडक कालोपत्रे भएर बाह्रै महिना सञ्चालन हुन सक्ने भएपछि विकासका अन्य पूर्वाधार निर्माणमा समेत सहजता हुनेछ ।
‘सडक सपना पूरा भएपछि जिल्लाले अन्य क्षेत्रको विकासमा समेत फड्को मार्नेछ,’ प्रदेशसभा सांसद प्रकाश शाहले भने । हाल स्थानीय तहले समेत गाउँगाउँ जोड्ने ग्रामीण सडकका थुप्रै योजनालाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरेका छन् ।
‘ग्रामीण क्षेत्रसमेत सडक सञ्जालमा जोडिएपछि बाजुराको समग्र विकासले गति लिने विश्वास छ,’ हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भने ।
kantipurdaily


