आफ्ना सम्पन्न साथीहरूबाट महँगा उपहार पाएपछि नेतन्याहुले उनीहरूसँग विशेष सम्बन्ध राखेको आफूहरूसँग प्रमाण भएको प्रहरीको भनाइ छ।
सञ्चारमाध्यममा आफूसँग जोडिएका समाचार ल्याउन घुस खुवाएको पनि उनीमाथि आरोप लगाइएको छ।
इजरेली टेलिभिजनमा बोल्दै नेतन्याहुले आफूविरूद्धका आरोपहरूको सशक्त खण्डन गर्दै आफूविरूद्धको मुद्दाबाट केही हासिल नहुने दावी गरे।
मंगलवार राति प्रहरीले महान्यायधिवक्तासमक्ष नेतन्याहुमाथि अभियोग दायर गरी मुद्दा चलाउन सिफारिश गरेको थियो।
इजरेलका महान्यायधिवक्ताले अब प्रहरीको सिफारिश अनुसार देशका बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउने कि प्रहरीको अनुसन्धानले फेला पारेका निष्कर्षलाई अस्वीकार गर्दै मुद्दा खारेज गरिदिने भन्ने निर्णय लिनुपर्नेछ।

महान्यायाधिवक्तालाई यस विषयमा निर्णय सुनाउन महिनौँको समय लाग्न सक्ने ठानिएको छ।
उनको निर्णयले गहिरो राजनीतिक परिणामहरू निम्त्याउन सक्ने देखिन्छ।
इजरेलको विपक्षी दलले प्रधानमन्त्री नेतन्याहुलाई पदबाट राजीनामा दिन भनिसकेको छ।
तर अहिलेकै चरणमा त्यो गर्नका लागि कुनै कानूनी आधार छैन्।
बीबीसीका जेरूसलेम संवाददाता भन्छन्, अहिलेलाई बेन्जमिन नेतान्याहु इजरेलका प्रमुख राजनीतिक व्यक्तित्व हुन् र उनलाई आफ्नो दल एवं सत्तारूढ गठबन्धनको सहयोग प्राप्त छ।
भ्रष्टाचारसम्बन्धी आरोपबारे छानबिनका क्रममा गत ज्यानुअरीमा प्रहरीले नेतन्याहुसँग सोधपुछ गरेको थियो।
BBC




















