माघ २९, २०७४ ताप्लेजुङ/तेह्रथुम — २०४६ सालमा सदरमुकाम फुङलिङको तोक्मेडाँडाँमा सडक पुग्दा हेर्नेको भीड नियन्त्रण गर्न प्रहरी परिचालित गर्नुपरेको थियो । जनघनत्व कम भएको सदरमुकाममा गाउँगाउँबाट मानिसहरू आएका थिए । जानकारहरूका अनुसार सबैको आँखा सडक खन्ने मेसिन र त्यसलाई चलाउने चालकमा हुन्थ्यो ।
चालक र मेसिनलाई भगवान ठान्नेहरूले गाउँमा फर्केर अनौठो कुरा देखेर आएको सन्देश फैलाएका थिए । त्यही सन्देशसँगै सडक खन्ने मेसिन हेर्न आएकाले सहरमा विकास आएको ठाने र सहरीकरण बददै गयो । भगवानरूपी मेसिन जिल्ला भित्रिएको झन्डै तीन दशकपछि भने गाउँगाउँमा पुगेको छ । यतिसम्म दुई वडा बराबर एउटा मेसिन छन् अहिले जिल्लामा । जिल्लामा ६१ वडा छन् । जिल्लाकै व्यवसायीहरूले दर्जन बढी मेसिन भित्र्याइसकेका छन् । भित्र्याउने प्रक्रियामा रहेकाको लाइन पनि त्यत्तिकै छ । जनता बैंकका म्यानेजर जीवन अधिकारीका अनुसार बैंकले गरेको सहयोगका तीन वटा मेसिन आउन बाँकी नै छ । जनचाहना सडक केन्द्रित भएसँगै मेसिन भित्रिने क्रम पनि बढेको हो ।


