माघ २७, २०७४ जाजरकोट — जिल्ला अदालत जाजरकोटले एक विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई कैद र क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासबाट उक्त फैसला गरेको हो ।
जिल्ला न्यायाधीश गिरीको इजलासबाट छेडागार नगरपालिका-८, सुवानाउलीका २६ वर्षीय दलबहादुर विटालुलाई ६ वर्ष कैदका साथै ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको हो।
अभियुक्त विटालुले गत साउनमा सोही नगरपालिका-५, बाँकामा ४५ वर्षीय विरामी महिलालाई अमानवीय तवरले जवरजस्ती करणी गरेका थिए। अभियुक्त विटालुले सिकिस्त विरामी भएर बाटोमा पल्टिएकी महिलालाई शरीरमा लगाएको कपडा च्यात्नुको साथै यौनाङ्ग तथा शरीरको अन्य भागमा घाउचोट बनाएर करणी गरेका थिए।
घटनास्थलको मचुल्का, पीडितको शरीरका घाउचोट र पीडित तथा पीडकले लगाएको बस्त्रमा मानव वीर्य फेला परेको परीक्षण प्रतिवेदन लगायत प्रमाणका आधारमा पीडक विटालुलाई कैद तथा क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार अधिकृत मेघनाथ चापागाईंले बताए।
मानव वीर्य परीक्षण प्रतिवेदन प्रमाणका आधारमा कैद जरिवानाको फैसला भएको जाजरकोटमा पहिलो भएको उनले बताए। मदिरा सेवन गरेर मात्तिएका विटालुले विरामी तथा विधुवा महिलालाई मध्य पहाडी लोकमार्गको बाँकामा जंगली ब्यबहार देखाएर बलात्कार गरेको उनले बताए।
अभियुक्त विटालुलाई मुलुकी ऐन जवरजस्तीकरणी महलको ३(५) बमोजिम ६ वर्ष कैद र १० नं अनुसार ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको उनले बताए। अभियुक्त विटालु ६ महिनादेखि जिल्ला कारागार जाजरकोटमा कैदा भुक्तान गरीरहेका छन्। पीडित महिलाको भने घटनाको ५ महिना पछि मृत्यु भइसकेको चापागाईंले बताए।
त्यस्तै अदालतले हाडनाता करणीका अभियुक्तलाई पनि जनही १/१ वर्ष कैदको फैसला गरेको छ। भेरी नगरपालिका-१२, जगतीपुरका सुदाम भण्डारी र डिल्ली भण्डारीलाई हाडनाता करणी अभियोगमा उक्त कैदको फैसला भएको हो। उनीहरु ४ पुस्ता भित्रका देवर र भाउजु नाताका हुन्। डिल्लीका श्रीमान् कर्ण भण्डारीको जाहेरीले प्रतिवादी सुदाम र डिल्लीलाई अदालतबाट कैदको फैसला भएको श्रेस्तेदार अधिकृत चापागाईले बताए।
kantipurdaily


