सिट्रस फ्रुट भनिने कागती सुन्तला वर्गका फलफूलको डीएनए प्रमाणबाट तिनको उत्पत्तिस्थल हिमालयको दक्षिणपूर्वी काख रहेको वैज्ञानिकहरूले बताएका छन्।
असी लाख वर्षअघि पहिलो सिट्रसको वृक्ष त्यो क्षेत्रमा उम्रिएपछि संसारभरि फैलिएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले बताएका हुन्।
त्यो रूख विकसित हुँदै जाँदा हाम्रा भान्छामा मिठो सुन्तलादेखि अमिलो कागतीसम्म बनेर आइपुगेको छ।
सिट्रस परिवारका रूखहरू संसारभरि रोपिएका छन्। तर तिनको इतिहास भने स्पष्ट थिएन।
सिट्रसको उत्पत्तिको इतिहास पत्ता लगाउन अमेरिका र स्पेनका वैज्ञानिकहरूले सिट्रस परिवारका ५० भन्दा बढी फलहरूका जीनको अध्ययन गरेका थिए।
‘नेचर’ नामक जर्नलमा छापिएको अध्ययनका अनुसार अहिलेका आधुनिक सिट्रस फलहरू आसामको पूर्वी क्षेत्र, उत्तरी म्यानमार र पश्चिमी युनान क्षेत्रबाट विकसित भएका हुन्।
लाखौं वर्षअघि जलवायु परिवर्तन हुँदा कमजोर मनसुनी वर्षा र सुख्खा मौसमका बेला ती सिट्रस रूखहरू हिमालयबाट दक्षिणपूर्वी एसियामा फैलिएका थिए।
त्यहीँबाट तिनीहरू सारा संसारमा फैलिए र अष्ट्रेलियामा ४० लाख वर्षअघि पुगे।
तस्वीर सो विश्लेषणका अनुसार आजका सिट्रस फलहरू लाखौँ वर्षको क्रमिक विकास र मान्छेले गरेका अनेक खाले प्रजाति विकासक्रमबाट प्राप्त भएका हुन्।
विभिन्न सिट्रस फलको ‘जेनेटिक म्याप’ का आधारमा विभिन्न खालका रोग र किटाणुसँग लड्न सक्ने प्रजाति तथा नयाँ स्वाद र गन्ध भएका फल उत्पादन गर्न वैज्ञानिकहरूलाई सहयोग पुर्याउने ठानिएको छ।
सिट्रस फलको जीवावशेष असाध्यै कम पाइएको छ।
तर दक्षिण पश्चिमी चीनमा करिब ८० लाख वर्षअघि पाइएको सिट्रसको पातको अवशेष अहिले गरिएको वंशाणु अध्ययनसँग मेल खाएको बताइएको छ।
BBC


