काठमाडौँ: साझा यातायात सहकारी लिमिटेडले अपाङ्गता भएका नागरिकलाई पनि सजिलै चढ्न मिल्ने बस भारतबाट ल्याएको छ।काठमाडौँ उपत्यकामा शारीरिक अपाङ्गता भएकालाई सेवा दिने उद्देश्यले भारतबाट आज विकलांगमैत्री ‘सिमी लो फ्लोर’ नामको बस नेपाल भित्र्याइएको संस्थाका कामु कार्यकारी अधिकृत महेन्द्रराज शर्माले बताए ।
नमूनाका लागि भित्र्याइएको उक्त बसमा शारीरिक अपाङ्गसहित बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणले समेत यातायात गर्न सक्ने उनले बताए । ग्लोबल टेण्डरमार्फत भारतको राजस्थानबाट भारतीय कम्पनी अशोक लेल्याण्डबाट करिब ३५ लाखमा उक्त बस नेपाल ल्याइएको हो ।
बस चाँडै प्रक्रिया पुर्याई सञ्चालनमा ल्याइने बताइएको छ । ‘बस भर्खर आएको छ । अब प्राविधिक जाँच हुन्छ’, उनले भने, ‘वाग्मती यातायात व्यवस्था विभागमा दर्ता गरेर बस सञ्चालनको अनुमति लिएर बस सञ्चालन गर्छौँ ।’ यी बस अपाङ्गता भएकालाई अस्पताल हिँडडुल गर्ने मार्गमा सञ्चालन गरिने छ ।
होचो बस भएकाले खाल्डाखुल्डी कम भएको ठाउँमा र राम्रो सडकमा सञ्चालन हुनेछ । उनका अनुसार ललितपुरस्थित पाटन अस्पताल हुँदै त्रिपुरेश्वरस्थित आँखा अस्पताल–वीर अस्पताल–महाराजगञ्जस्थित शिक्षण अस्पताल–बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रसम्म चलाइने योजना छ । ४१ सिटे उक्त बसको ढोकामा ह्वील चेयर सजिलै लैजान मिल्छ ।
बसमा सिसिटिभी क्यामेरा र टिभी पनि छन् । गाडी गुडिरहेको स्थानबारे पनि जानकारी पाइनेछ । कामु कार्यकारी अधिकृत पाण्डेले साझाले लामो दूरीका लागि थप चार डिलक्स बस पनि ल्याउन थालेको जानकारी दिए ।
यस्तै २४ नयाँ बस ल्याउने समेत निर्णय भएको छ । अहिले संस्थामा ४६ गाडी भए पनि आगामी छ महिनाभित्र ७५ गाडी पुर्याइने लक्ष्य रहेको उनले बताए ।




