माघ २२, २०७४ काठमाडौँ — संयुक्त राष्ट्रसंघीय बिशेष दूत फिलिपे गोन्जालेज मोरालेसले वैदेशिक रोजगारमा जाने कामदारसँग शुल्क लिने र शोषण गर्नेमाथि शून्य सहनशिलताको नीति लिनुपर्ने बताएका छन् ।
वैदेशिक रोजगारमा जाने नेपाली कामदारको मानव अधिकारको पक्षमा नेपालले चालेका कदमको अध्ययन गर्न आएका बिशेष दूत मोरालेसले सोमबार पत्रकार सम्मेलन गरी यस्तो धारणा राखेका हुन् । ८ दिने भ्रमण सकेर उनी सोमबार फर्किंदैछन् ।
नेपालले कामदारलाई शून्य लागतमा पठाउने नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताए । ‘कामदारको आपूर्ति प्रणाली निकै जटिल देखें । उनीहरुले औपचारिक र अनौपचारिक गरी ८ तहसम्मको एजेन्ट र एजेन्सीसँग सामन गर्नुपरेको छ,’ उनले भने, ‘उनीहरुले स्पष्ट नभएका विभिन्न शिर्षकमा एकलाख ८० हजार रुपैयाँसम्म शुल्क तिर्नुपरेको स्थिति छ ।’
उनले ७ वटा प्रमुख गन्तव्य देशमा शून्य लागतमा कामदार पठाउन लिएको नीतिलाई कमजोर रुपमा लागू गर्नुको साथै यसको अनगुमन प्रभावकारी नभएको बताए ।
‘कामदारसँग विभिन्न शिर्षकमा शूल्क लिने कार्यलाई पूर्णरुपमा प्रतिबन्ध गरिनुपर्छ । विभिन्न क्षेत्र र सीपमा काम गर्न जाने कामदाराको करारपत्र गुणस्तरीय बनाउनुपर्छ ।
कामदारलाई पठाउने म्यानपावर, दलाल र सहायक दलालबीचको सम्बन्ध कानुनीरुपमै स्पष्ट पारिनुपर्छ,’ उनले भने, ‘कामदारसँग शूल्क लिने र कामदारको अधिकार हनन गर्ने म्यानपावरको लाइसेन्स रद्द गरिनुपर्छ ।’
मोरालेसले गन्तव्य देश जानुभन्दा अगाडिको पूर्व तयारी तालिमलाई सुधार र वृद्धि गर्नुपर्ने बताउदै सरकारले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागको कार्यक्षमता बढाउनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताए ।
kantipurdaily


