१२ माघ, काठमाडौं । नेपाली आँखा चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने भएको छ ।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विहीबार राति विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ । अनि, भारतरत्न, पद्मभूषण तथा पद्मविभूषणपछिको चौथो दर्जाको नागरिक सम्मान पाउनेहरूको सूचीमा रुइतको नाम पनि समेटिएको छ ।
ब्युरोका अनुसार डा. रुइतको प्रविधिले मोतीविन्दुको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको छ भने ३० भन्दा बढी देशहरूमा यसको प्रयोग भइरहेको छ । उनी हप्तामा दुई हजार पाँच सयजति बिरामीको उपचार गर्छन् भने पैसा तिर्न नसक्नेलाई निःशुल्क सेवा प्रदान गर्दछन् ।‘सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफ्नो आधिकारिक टि्वटरमा लेखेको छ ।
अष्ट्रेलियामा अध्ययन गरेपछि नेपाल फर्किएर उनले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र सल्यचिकित्सा प्रविधिको आबिस्कार गरेका थिए ।
को हुन् डा. रुइत ?
उनी आँखाको प्रसिद्ध डाक्टरको रुपमा चिनिन्छन् । तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका उनले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । उनी आफैले अहिलेसम्म झण्डै एक लाख बढी मानिसलाई आँखाको दृष्टि दिएर संसार देखाइसकेका छन् भने बिभिन्न देशमा उनले दिएको तालिम र प्रबिधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् ।
यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भए ।
ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतका बुबा नेपाल-तिब्बतबीच घोडा र नुनको ब्यापार गर्थे । तत्कालीन समयमा उनी ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जीलिङ पुगे । सुरुमा उनी दार्जीलिङको मिसनरी स्कुल सेन्ट रोबर्ट्समा भर्ना भए । सन् १९६२ मा चीन-भारतबीच सीमायुद्ध भएपछि दार्जिलिङका स्कुल बन्द भए ।
त्यसपछि उनी काठमाडौंको सिद्धार्थ वनस्थलीमा पढ्न थाले । उनले सन १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।
onlinekhabar


