काठमाडौँ, पुस २४ गते । चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले रुघाखोकीका बिरामी बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालि अघिल्लो वर्षभन्दा अलि फरक अवस्था देखिएको छ, बढिरहेको जाडोसँगै अत्यधिक धुलोधुवाँका कारण पनि लामो समय औषधि खाँदा पनि रुघाखोकी निको नभइरहेको देखिएको छ । ”
वीर अस्पतालका आकस्मिक विभागका मेडिकल अफिसर डा. सरल शर्माले चिसो बढेसँगै श्वासप्रश्वास र दमका बिरामी अत्यधिक बढिरहेको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या बढी भएकाले २० श्यया भएको वीरको आकस्मिक कक्षमा एउटै श्ययामा चार जनासम्म बिरामी राखेर उपचार गर्नु परेको जानकारी दिनुभयो ।
“राजधानीका ग्रामीण भेग र बाहिरी जिल्लाबाट आएका आगोमा खाना पकाउने महिला र अत्यधिक चुरोट सेवन गर्ने ६० वर्षमाथिका वृद्धवृद्धा दमको समस्या भएर धेरै आइरहनुभएको छ”, उहाँले भन्नुभयो । रुघाखोकी लागेका समयमा मास्क लगाएर मात्र बाहिर निस्कन, धेरै हूलमूल र भीडभाडमा नजान चिकित्सकले सुझाव दिनुभएको छ ।
काठमाडौँको तापक्रम शून्य डिग्री
काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।
काठमाडौँको आइतबारको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो । उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगन्जमा ८–८ डिग्री सेल्सियस छ ।
gorkhapatraonline




















