सरोज ढुङ्गेल
काठमाडौँ, पुस २२ गते । चिसो मौसमसँंगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ । जाडो बढेसँंगै यो वर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ । शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्रिसेल्सियस मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको जनाएको छ । महाशाखाले चिसो अझै बढ्न सक्ने बताएको छ । चिसो मौसमका कारण हुने रोगले जनजीवन प्रभावित हुन थालेको छ ।
चिकित्सकहरूले वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकोले उनीहरूलाई जाडोबाट बचाउन सुझाव दिएका छन् । चिसो मौसमको कारण मानिसहरूमा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिक्स, रक्तचाप, हाइपोथर्मिया लगायत रोगहरू लाग्ने भएकोले वृद्धवृद्धा र बालबालिकाहरू त्यसतर्फ सचेत हुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले चिसो मौसमको सुरुवातसँंगै मानिसहरूलाई निमोनिया, श्वासप्रश्वास, हृदयाघात, हाइपोथर्मिया लगायतका रोगहरूले सताउने भन्दै सतर्क रहन आग्रह गर्नुभयो । डा. आचार्यले तराईमा जाडोले अत्यन्त सताउने भन्दै तराईका वासिन्दाले जाडोबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने बताउनुभयो । तराईमा कम्मरभन्दा माथि पूरा कपडा लगाउने तर कम्मरभन्दा तल जाडो मौसममा पनि बाक्लो कपडा नलगाउनाले मानिसहरूलाई चिसोले बढी सताउने गरेको डा. आचार्यको भनाइ छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीले जाडो मौसमसँंगै मानिसलाई रोगले आक्रमण गर्न सुरु गर्ने जानकारी दिँदै तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, वृद्ध, बालबालिकाहरूलाई जाडो मौसममा विभिन्न रोगहरू लाग्नसक्ने बताउनुभयो । डा. केसीले अत्यधिक चिसोको कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसमका रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै आगो ताप्ने सल्लाह दिनुभयो ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा परोपकार स्त्री तथा प्रसूति अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सुत्केरी महिलाहरू पनि जाडोका बेला उच्च जोखिममा हुने बताउँदै भर्खर जन्मिएका तथा आमालाई न्यायोमा रहन सुझाव दिनुभयो । नवजात शिशु तथा आमाहरू अत्यधिक चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्यु हुने गरेको जानकारी दिँदै चिसोबाट बच्नुपर्ने उहाँको सल्लाह छ ।
उहाँले जाडोमा बालबालिकामा दम, निमोनिया, रुघाखोकी, ज्वरो, टन्सिल, डायरिया, भाइरल ज्वरो, पिनास, ब्रोनक्राइटिस लगायत रोगहरू लाग्ने बताउनुभयो । भर्खर जन्मेका बच्चाहरूमा निमोनिया, ब्रोनक्राइटिस लगायत समस्या हुने भन्दै बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनुपर्ने बताउनुभयो ।
चिसोबाट बच्न शारीरीक व्यायाम गर्ने, बालबालिका र वृद्धलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, मादक पदार्थ सेवन नगर्ने, प्रशस्त पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खानुपर्ने चिकित्सकको सुझाव छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले यसपटक पश्चिमी वायुले नेपालमा प्रभाव नदेखाए पनि मौसमका कारण जाडो बढेको बताउनुभयो । तराईका जिल्लाहरूमा बिहान, बेलुकी हुस्सु परेको भन्दै उहाँले नेपालमा यो वर्ष शीतलहर भने देखा नपरेको बताउनुभयो ।
‘अझै दुईचार दिन शीतलहर देखिने सम्भावना छैन’, मौसमविद् वासीले भन्नुभयो, “जाडो घटबढ हुनसक्ला तर शीतलहरको सम्भावना छैन । ” केही दिनपछि भने तराईका जिल्लाहरूमा शीतलहर पर्नसक्ने सम्भावना रहेको मौसमविद् वासीको भनाइ छ । उहाँले अहिले पनि तराईमा बाक्लो हुस्सु भने चलिरहेको छ ।
gorkhapatraonline


