रामकुमार श्रेष्ठ
२१ पुस, नवलपुर । मध्यविन्दु नगरपालिका ८ को भुसाल परिवारमा ४ वर्षपछि खुसी फर्किएको छ । साउदीको जेलमा रहेका छोरा थानेश्वर भुसाललाई छुटाउन ४५ लाख रुपैयाँ ब्लड मनी संकलन भएपछि परिवारमा खुसीयाली छ ।
६२ वर्षीया आमा यमकला र ६५ वर्षीय वृद्ध बाबु तिलारामले राहतको सास फेरेका छन् । उनीहरुमा खुसीको सीमा छैन ।
भुसालले ९ महिना पहिले अनलाइनखबरसँगको कुराकानीमा छोरा छुटाउन पैसा नभएको भन्दै दुःख पोखेकी थिइन् । यमकलाको रोदनसहितको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगी हातहरु सक्रिय भएका थिए । त्यसैका आधारमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो ।‘हाम्रो लागि ४५ लाख भनेको ४५ करोड झैं थियो, सबै सम्पत्ति बेचेर पठाउन पनि नपुग्ने भएपछि के गर्न सकिन्थ्यो र ? त्यतिबेला छोरासँग अब भेट होला भन्ने लागेको थिएन’ यमकला भन्छिन्,’यस्तै रहेछ दैवको लिला भन्ने थियो । अहिले हामी खुसी छौं, मेरो छोरालाई छुटाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’
साउदीको जेलमा ४ वर्षदेखि रहेका थानेश्वरको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसिसी)को अगुवाईमा अभियान सञ्चालन भएको थियो ।
थानेश्वरलाई गाडी चलाउने लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।
उनले चलाएको टिपरमा अर्को गाडीले पछाडिबाट ठक्कर दिँदा अगाडि गुडिरहेको अर्को गाडीमा रहेका दुई जनाको ज्यान गएको थियो । दुर्घटनामा थानेश्वर घाइते भएका थिए ।
दुर्घटनापछि झण्डै १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीका साहुले घर आउन दिएको थिएन । घर र्फकने बेलामा फेरि साउदीको प्रहरीले उनलाई त्यही मुद्दामा पक्राउ गरेको थियो ।
उनकी आमा यमकला भुसालले भनिन् समी परियोजना, पीएनसीसी, पत्रकार, साउदीमा रहेको नेपाली दूतावासलगायत ब्लडमनी उठाउन भूमिका खेल्नेप्रति धन्यवाद दिइन् ।

केरा खेती गर्दै आएका बुढा-बुढीका दुई छोरामध्ये जेठो थानेश्वर भुसाल साउदीको जेलमा छन् भने अर्को कान्छो छोरा कतारमा छन् । उनले भन्छिन्,’छोराहरु आएपछि अब कुनै पनि हालतमा विदेश जान दिन्न यही केही गर्न लगाउँछु ।’
उनी थप्छिन्, ‘म त कसैलाई पनि समेसम्म विदेश नजान सल्लाह दिन्छु, गईहाले पनि जाने देशको भाषा, त्यहाँको कानुन सबै जानेर जान भन्छु ।’
ब्लड मनी जुटे पनि पीडित र पीडक पक्षबीच अदालतमा भेट गराएर मुद्दा मिलेपछि मात्र थानेश्वर छुट्ने भएकोले जेलमुक्त हुने मिति यकिन भने नभएको सामी परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताइन् ।
भुसालका बुवा सुस्तमनस्थितिका छन्, भुसाल जेल परेपछि उनका श्रीमतीले उनलाई छाडेर दोस्रो विवाह गरकी थिइन् । बुवा तिलाराम भुसाल पनि छोरा विदेशको जेलबाट छुटेर आउने खबरले निक्कै खुसी देखिन्थे ।
साउदीको जेलमा ४ वर्षदेखि रहेका थानेश्वरको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति -पिएनसिसी)को अगुवाईमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको थियो ।
साउदी अरब, कतार, बहराइन, कुवेत, यूएई, मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशमा बस्ने नेपाली तथा सहयोगी संस्थाहरुले सहयोग उपलब्ध गराएको पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए ।
नवलपरासीबाट उनी उनलाई छुटाउनका लागि सामी परियोजनाले दुई लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेर पीएनसीसीलाई हस्तान्तरण गरेको थियो । तोकेको जेल अवधि सकिएपनि जरिवाना रकम बुझाउन नसक्दा थानेश्वर अझै जेलबाट छुट्न सकेका छैनन् ।
भुसाललाई विदेश पठाउने इनोभेटिभ मेनपावर कम्पनीले उनलाई छुटाउन आवश्यक पर्ने रकममा ५१ हजार रुपैयाँ सहयोग गर्ने वचन दिएपनि त्यो रकम नदिएको आमा यमकलाले बताइन् ।

थानेश्वरले आफूलाई छुटाउनका लागि चाहिने ब्लड मनी पुगेको खबर पाएपछि आमालाई फोन गरेर कानुनी प्रक्रिया पुरा गरी छिटो निकाल्न आग्रह गरेको बताइन् ।
आमा यमकला भुसालले अब आफ्नो छोरा छुटाउन के के गर्नुपर्छ आफूलाई थाहा नभएपनि अब यसमा सहयोग गर्ने संघसंस्थाहरुले सबै प्रक्रिया पुरा गरेर छुटाइदिन्छ भन्नेमा ढुक्क रहेको बताइन् ।
‘दिनरात आँशुको धारामा बित्ने गथ्र्याे, अहिले त ठूलो राहत महशुस भएको छ । अति नै खुसी लागेको छ, सत्यको जित हुँदो रहेछ, सत्यले जित्यो ।’
भुसाल जेलबाट छुट्ने खबरले उनका परिवार मात्र होइन, उनका गाउँका छिमेकी तथा गाउँले पनि निक्कै खुसी छन् ।

onlinekhabar




















